Close sidebar

घरेलु टोली ओमानलाई ३८ रनले हराउँदै नेपाल शिर्ष स्थानमा

२०८२ आश्विन ३० गते, बिहीबार ०१:४१

काठमाडौं । ओपनर कुशल भुर्तेलको सानदार अर्धशतकपछि बलर र फिल्डरहरूको सामूहिक उत्कृष्ट प्रदर्शनमा नेपालले आइसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको महत्त्वपूर्ण खेलमा घरेलु टोली ओमानलाई ३८ रनको फराकिलो अन्तरले हराउँदै नेपाल शिर्ष स्थानमा उक्लिएको छ ।

नेपालले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो । नेपाली बलरहरूको कसिलो र अनुशासित बलिङसामु ओमानका ब्याट्सम्यानहरू सुरुदेखि नै दबाबमा देखिए ।

ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाए भने मोहम्मद नदीमले २५ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्, जसका कारण ओमान लक्ष्यभन्दा निकै टाढा रह्यो ।

नेपालका लागि गुल्सन झाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३१ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । त्यस्तै, सोमपाल कामी र नन्दन यादवले पनि किफायती बलिङ गर्दै समान २-२ विकेट लिए । सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो । भने १ विकेट दिपेन्द्रसिंह ऐरीले रन-आउटको रुपमा लिएका थिए ।

यसअघि, मस्कटस्थित अल अमेरत क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको उत्कृष्ट अर्धशतकीय पारीका बाबजुद निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए ।

तर, आसिफ शेख २० बलमा २४ रन बनाएर आउट भएसँगै नेपालको विकेट पतन सुरु भयो । त्यसपछि कप्तान रोहित पौडेल (१), दीपेन्द्रसिंह ऐरी (२) र कुशल मल्ल (७) सस्तैमा पभेलियन फर्किएपछि नेपाल ८१ रनमा ४ विकेटको कमजोर स्थितिमा पुगेको थियोे ।

एक छेउबाट कुशल भुर्तेलले नेपालको इनिङ्स सम्हालेका थिए । उनले ५१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६९ रनको महत्त्वपूर्ण योगदान दिए । अन्त्यमा गुलशन झाले १० बलमा १८ रन बनाउँदै नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्‍याए ।

ओमानका लागि नदीम खानले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट लिए । यो जितसँगै नेपालले ४ खेलमा ४ जितसहित ८ अङ्क जोड्दै सुपर सिक्सको शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ । ओमान ४ खेलमा ३ जितसहित ६ अङ्कका साथ दोस्रो स्थानमा छ । यो जित अगावै नेपाल आगामी वर्ष हुने टी-२० विश्वकपमा भने छनोट भइसकेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया