नेपालगन्ज । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धानका लागि राखिएका बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ का ३८ वर्षीय बीरेन्द्रबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
विगत तीन दिनदेखि प्रहरी हिरासतमा रहेका सिंहको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताउनुभयो । उपचारकै क्रममा सोमबार बिहान थुनुवा सिंहको मृत्यु भएको पातलीले जानकारी दिए ।
प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पातलीका अनुसार थुनुवाको ‘मृत्युको कारण केही खुलेको छैन, एक्कासी अस्वस्थ भएपछि अस्पताल लगिएको थियो, उपचारकै क्रममा थुनुवाको मृत्यु भयो,’ उहाँले भन्नुभयो । सिंहको शवलाई शिक्षण अस्पताल कोहलपुरमा राखिएको प्रहरीले जनाएको छ ।
जानकी गाउँपालिका वडा ६ का २१ वर्षीया मुकेश पासीको शव सोही वडाका कल्सी पाण्डेको घर नजिक रक्ताम्य अवस्थामा भदौ २० गते बिहान फेला परेको थियो । पासीको हत्या कुटपिटबाट भएको उहाँका पिता राम किसुन पासीले प्रहरीमा किटानी जाहेरी दिएकोले हिरासतमा मृत्यु भएका सिंह लगायत पाण्डेसहित चार जनालाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।


