काठमाडौं । जेन–जी पुस्ताको प्रदर्शनमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ । काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको हो ।
प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत दुई घाइतेको मृत्यु भएको पुष्टि भएको छ भने संसद् भवनको गेटमा गोली लागेर ढलेका एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
उता, ट्रमा सेन्टरमा उपचाररत थप पाँच प्रदर्शनकारीको मृत्यु भएको दाबी गरिएको छ । प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ । काठमाडौंमा अहिले नेपाली सेना परिचालन गरिएको छ ।

