Close sidebar

सद्भावको सहर नेपालगन्जमा आज ताजिया सेलाएर मोहर्रम सम्पन्न

२०८२ असार २२ गते, आईतवार २३:४८

मो. अरशद शेष राई✍️
नेपालगन्ज । सद्भावको सहर नेपालगन्जमा विविध कार्यक्रम गरी ताजिया सेलाएर शोकको पर्व मोहर्रम आज सम्पन्न भएको छ । शहिदहरुको सम्झना स्वरुप दस दिनसम्म नेपालगन्जमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको मोहर्रमको अन्तिम दिन आइतबार नेपालगन्ज -६ फुल्टेक्रा स्थित स्थानीय कर्बलामा ताजिया सेलाएर सम्पन्न भएको हो ।अरेबिक क्यालेन्डर नयाँ वर्ष मोहर्रम महिनाको ५ तारिख देखि निरन्तर विभिन्न जुलुस लगायतका कार्यक्रम गरी शनिबार ९ तारीखका दिन घर, टोल तथा विभिन्न स्थानमा राति राखिएको ताजिया मोहर्रमको १० तारीख अर्थात आसुराका दिन आइतबार ताजिया सेलाएर मोहर्रमको सम्पुर्ण कार्यक्रम सम्पन्न भएको मोहर्रम पर्व तथा कर्बला संरक्षण समितिका अध्यक्ष मेराज अहमद हिमालले बताउनुभयो ।१४ सय वर्ष पहिले इराकको शहर बगदादस्थित कर्बलामा युद्धका दौरान इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लाहुअलै व सल्लमका नातिहरु हजरत इमाम हुुसैन र हजरत हसन हुसेनले इस्लाम धर्मलाई बचाउन आफूसहित ७२ जनाको परिवारले प्राण आहुति दिएको सम्झना स्वरूप पहिलो १० दिनसम्म विविध कार्यक्रम गरी हसन र हुसैनको सम्झनामा कागज र बाँसले बनाइएको ताजिया मोहर्रमको १० तारीख अर्थात आसुराका दिन आज ताजिया सेलाएर औपचारिक रुपमा मोहर्रम सम्पन्न भएको हिमालले बताए ।

यसैबीच मोहर्रम पर्व तथा कर्बला संरक्षण समिति धम्बोझीले मोहर्रमलाई सभ्य, भब्य र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सहयोग गरेकोमा सुरक्षा प्रमुख, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी लगायतलाई नेपालगन्जको त्रवेणीमोडमा विशेष सम्मान गरेको छ ।

सम्मानित हुनेमा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख (सिडियो) धर्मराज जोशी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख (एसपी) रामप्रसाद घर्तीमगर, सशस्त्र प्रहरी प्रमुख (एसपी), प्रहरी प्रवक्ता (डिएसपी) दीपक पातली, जिल्ला ट्राफिक प्रमुख (इनिस्पेक्टर) पुष्करराज पन्त लगायतलाई सम्मान गरिएको हो । यस्तै सम्मानित हुनेमा नेपाली काँंग्रेस बाँकेका सचिव सुधांशु कोइराला, न्युज फ्ल्यास खबर डटकमका सम्पादक मो. अरशद शेष राई, खोजखबर अनलाइनका अध्यक्ष एवं सम्पादक जाबेद अहमद अन्सारी, वसीम अन्सारी, लगायतलाई गम्छा (शाफा) लगाएर सम्मान गरेको छ ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले शोकको पर्व मोहर्रमलाई सभ्य, भब्य र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उहाँले सबै जातजातिको संस्कार र पर्वको सम्मानले मात्र सद्भाव बढ्ने बताउँदै उनले नेपालगञ्ज साचिकै सद्भावको सहर भएको जिकिर गरे । ‘एक अर्काको धर्मप्रति गरेको सम्मानले नेपालगन्ज सद्भावको सहर बनाउन सहयोग गरेको छ,’ उनले भने ।

मुस्लिम समुदायले मनाइने शोकको पर्व मोहर्रमलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नेपालगन्जमा सुरक्षा व्यवस्था कडा पारिएको थियोे । मोहर्रमलाई सभ्य, भब्य र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर प्रहरी र सशस्त्र प्रहरी गरी करिब पाँचसय सुरक्षाकर्मी परिचालन गरी घरको छत तथा ड्रोनबाट समेत निगरानी गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक (एसपी) रामप्रसाद घर्तीमगरले बताउनुभयो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया