Close sidebar

मुस्लिम समुदायले मनाइने मोहर्रम ताजिया सेलाएर आज सम्पन्न गरिँदै

२०८२ असार २२ गते, आईतवार १४:१०

नेपालगन्ज । मुस्लिम समुदायले मनाइने मोहर्रम आज ताजिया सेलाएर सम्पन्न गरिँदैछ । शहिदहरुको सम्झना स्वरुप दस दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइने मोहर्रमको अन्तिम दिन आइतबार नेपालगन्ज -६ फुल्टेक्रा स्थित स्थानीय कर्बलामा ताजिया सेलाएर सम्पन्न गरिँदैछ ।

अरेबिक क्यालेन्डर नयाँ बर्ष मोहर्रम महिनाको पाँच तारिख देखि निरन्तर रातभरी विभिन्न जुलुस, मातम र मिलान गरेर मनाइएको मोहर्रमको अन्तिम दिन आज विभिन्न स्थानबाट ताजियाका साथ निस्कने जुलुसले नगर परिक्रमा गरेर स्थानीय कर्बलामा पुगेर ताजिया विसर्जन गर्ने कार्यक्रम रहेको मोहर्रम तथा कर्बला संरक्षण समितिका अध्यक्ष मेराज अहमद हलवाईले बताउनुभयो । ताजिया विसर्जन जुलुसमा सबै धर्म सम्पदायका सर्वसाधारणको सहभागिता रहने उहाँले बताउनुभयो ।

यसअघि मोहर्रमको नवौं दिन शनिबार राति ताजिया घर घरमा राखेर झिलिमिली पारी बजारलाई ताजिया मै बनाइएको थियोे । स्थानीयले रातभरि जाग्राम बसेर ताजियाको हेरचाह गरेका थिए । सर्वसाधारणले भने सहरका विभिन्न भागमा पुगेर रातभरि ताजियाको दर्शन गर्नुका साथै खिचडा, बिरयानी, खीर, छोला पुलाव, पानी पुडी, सरबत लगायत विभिन्न प्रकारका खानेकुरा खाएका थिए ।

१४ सय वर्ष पहिले इराकको शहर बगदादस्थित कर्बलामा इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लाहुअलै व सल्लमका नातिहरु हजरत इमाम हुुसैन र हजरत हसन हुसेनले इस्लाम धर्मलाई बचाउन आफूसहित ७२ जनाको परिवारले प्राण आहुति दिएको सम्झना स्वरूप पहिलो १० दिनसम्म विविध कार्यक्रम गरी मनाइने मोहर्ममा हसन र हुसैन हसनको सम्झनामा ताजिया राखिने परम्परा छ ।

कागज र काठबाट बनाइएका ताजियालाई नौ तारिखमा आ–आफ्नो घर अगाडि स्थापित गरेर रातभरि जाग्राम बस्ने गरिन्छ । ती ताजियालाई राख्नु अघि भाकल गर्ने र आफ्नो मनोकामना पूरा भएपछि ताजिया राख्ने गरिन्छ । मोहर्रमलाई हिन्दु, मुस्लिम सबैले मिलेर मनाउने गरेकाले मोहरर्म धार्मिक सद्भावको रुपमा स्थापित भइसकेको छ ।

यसैबीच, मोहर्रम पर्वलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नेपालगन्जमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मोहरर्रमलाई सभ्य, भब्य र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर प्रहरी र सशस्त्र प्रहरी गरेर करिब पाँचसय सुरक्षाकर्मी परिचालन गरि ड्रोनबाट निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक (एसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया