मो. ताहिर शेष राई (साहिल)
मानपुर । विश्व वातावरण दिवस २०८२ बाँकेमा पनि विभिन्न कार्यक्रम गरि आज भव्य रूपमा मनाइएको छ । दिवसको अवसरमा जानकी गाउँपालिका वातावरण तथा विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा बिहिवार पालिकको परिसरमा विभिन्न जातका बोट-बिरुवा रोपण गरेर दिवस मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जानकी गाउँपालिका बाँकेका अध्यक्ष छब्बन खाँले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष समीर प्रताप सिंहलाई विपद् व्यवस्थापन सम्बन्धि आगलागी उपकरण समेत हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष खाँले प्लाष्टिक जन्य पदार्थले वातावरणमा समेत असर पुर्याउने हुँदा नेपाल सरकारले प्लाष्टिकको झोला, प्लास्टिकको माला निर्मूलको अभियान सुरु गरिसकेको बाताउनुभयो । उहाँले विकासलाई वातावरणमैत्री बनाउन वृक्षारोपण आवश्यक रहेकाले वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको उल्लेख गरे ।
वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंहको अध्यक्षतामा भएको कार्यक्रममा दिवसको शुभकामना सन्देश दिँदै स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउन प्राण गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार वन जङ्गलको संरक्षण, संवर्द्धन र वन विकासमा टेवा पुर्याउने उद्देश्यले वातावरण प्रदूषणलाई कम गर्न वृक्षारोपण आवश्यक रहेको बताए ।
गाउँपालिका योजना शाखा अधिकृत सोभा पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा वातावरण तथा विपद व्यवस्थापन समितिका अधिकृत राजेन्द्र बाजपेयीले कार्यक्रम सञ्चालन गरेका थिए । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
कार्यक्रममा जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिक, वडा नम्बर १ देखि ६ वटैका वडाअध्यक्षद्वयहरु, मिलापका कार्यकारी निर्देशक राजेन्द्र थापा, मिलापका कार्यक्रम अधिकृत प्रेमा रोकाय, विभिन्न संघसंस्थाका अध्यक्षहरु, समाजसेवी, कर्मचारी, प्रहरी, पत्रकार लगायतको उपस्तिथि रहेको थियो ।


