Close sidebar

मुस्लिम समुदायको बकराईद’ पर्व भोलि, नेपालगन्जमा ईदको नमाज कहाँ कति बजे ?

२०८२ जेष्ठ २४ गते, शुक्रबार २१:४५

मो. अरशद शेष राई✍️
नेपालगन्ज । इस्लाम धर्माबलम्बीहरुको दोस्रो ठुलो मुख्य पर्व ईद- उल- अजहा (बकराईद) भोलि (शनिबार) देशभर मनाइँदै छ । इस्लामिक क्यालेन्डर हिजरी सम्बतको १२ औं महिना जिलहिज्जाको १० तारिखबाट शुरु हुने यो पर्व ३ दिनसम्म मनाइन्छ ।

ईद- उल अजहा, ईद- ऊल जोहा, बकराईद लगायत धेरै नामले परिचित यो पर्व ईद- उल-फित्र (ईद) पर्वको ठिक ७० दिनपछि मनाइन्छ ।

मुस्लिम समुदायले बकराईदको पहिलो दिन शनिबार बिहानै नुहाइधुवाइ गरी सफा कपडाका साथमा अत्तर लगाई इदगाह वा मस्जिदमा जम्मा भई समूहमा नमाज पढेर बकरइद पर्वको सुरुवात गर्छन् । नमाज पढ्न जुन बाटोबाट इदगाह वा मस्जिद आइएको हो, त्यसैबाट नगई अर्को बाटोबाट घरतर्फ फर्किदा राम्रो हुने धार्मिक विश्वास छ ।

नेपालगन्जको विपी चोकस्थित इदगाह र नेपालगन्ज – ३ स्थित एक्लैनीमा रहेको ‘तब्लिगी मर्कज’ फुल्वारी मस्जिदमा ईद- उल- अजहा (बकराईद)को समूहिक नमाज विहान ७ बजे पढ्ने छ । यस्तै नेपालगन्ज – ३ स्थित एक्लैनीमा नै रहेको दारुल उलूम फैजुननबी जामा मस्जिदमा ईद- उल- अजहा (बकराईद)को समूहिक नमाज विहान साढे ७ बजे पढ्ने बताइएको छ ।

यस पर्वमा अल्लाहको आफूप्रतिको माया र आशिषका लागि इस्लाम धर्मावलम्बिहरुले जनावरहरुलाई कुर्वान गर्ने धार्मिक मान्यता छ । इस्लाममा हज र कुर्वानी अनिवार्य भएकाले मुस्लिम समुदायहरु ईदगाह र मस्जिदमा सामूहिक नमाज पढेपछि दक्ष अनुसारको कुर्वानी (पशुवलि) दिने प्रचलन छ । कुर्वानीसँग प्रत्यक्ष सरोकार राख्ने यो पर्व अल्लाहको आदेशमा हजरत इब्राहिम अलैहिस्सलामले आफ्ना प्यारो छोरा हजरत इस्माइल अलैहिस्सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा मनाईन्छ ।

अल्लाहको आदेशमा हजरत इब्राहिम अलैहिस्सलामले आफ्नो नजिकको प्यारो के हो त्यसको कुर्वानी (बलिदान) दिनुभन्ने थियो, जस अनुसार छोरा इस्माइललाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँले बलिदान दिने क्रममा इब्राहिमको हातबाट अक्स्मात छोराको ठाँउमा दुम्बा (मरुभुमिमा पाइने भेडा) राखी बलिदान गर्ने भनी आदेश दिए । बलिदान दिदाँ इब्राहिमको नजरमा उनको छोरा इस्माइलको कुर्बानी भयो भन्ने थियो तर, आखाँ खोल्दा छोरा नभएर एउटा दुम्बालाई कुर्बान गरेका थिए, सोही घटनाको सम्झनामा यो पर्व मनाईन्छ ।

बकरइदमा नमाजपछि अ-आफनो घर गई क्षमता र हैसियत हुनेहरुले कुर्बानी (बलि दिने) गरिन्छ । त्यस्तो कुर्बानी चौपायामा मात्रै गर्नुपर्ने हुन्छ । खसी, राँगा, भेंडा, उँट, दुम्बा (खाडीमा पाइने जनावर) लगायतका जनावरलाई कुर्बानी दिन योग्य मानिन्छ । ठूला जनावरहरू राँगा, ऊँट लगायतमा ३, ५ र ७ जनासम्मले समूहमा वा एकै व्यक्तिको नाममा कुर्बानी दिने गरिन्छ भने खसी, बाख्रा, दुम्बामा एक जनाको नाममा मात्रै लगाउने प्रवधान छ । त्यस्तो जनावर बिरामी, खुट्टा खोच्याउने, कान काटिएको, सिङ भाँचिएको हुनु हँदैन ।

इस्लाम धर्माबलम्बीका अनुसार, कुर्बानीको मासु तीन भागमा बाँड्नुपर्छ । एक भाग आफ्ना घर परिवारका लीग, अर्को आफन्त तथा इष्टमित्रका लागि र तेस्रो भाग गरिब एंव असक्षम मानिसका लागि छुट्याउनु पर्ने हुन्छ । यो पर्वमा कोही पनि मासु खानबाट बन्चित नहोस भन्ने मान्यता रहेको छ । कुर्बानीको मासु तराजुमा तौलन् र बिक्री गर्न मिल्दैन । कुर्बानी भएको जनावरको छाला मदरसालाई दिनुपर्ने धार्मिक नियम छ । यो नियम सबै मुस्लिमले पालना गर्नुपर्ने हुन्छ । यस्तै दोश्रो र तेश्रो दिन पनि कुर्वानी दिन सकिन्छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया