मानपुर । बाँकेको जानकी गाउँपालिका मानपुरस्थित बाल विकास इङलिस मिडियम हाई स्कुलले आफ्नो वार्षिकोत्सव तथा सरस्वती पूजा भब्य सम्पन्न गरेको छ । बसन्त पञ्चमीको अवसर पारेर स्कुलको आयोजनामा वार्षिकोत्सव तथा सरस्वती पूजा विविध कार्यक्रम गरी सोमबार सम्पन्न गरेको हो ।
लुम्बिनी प्रदेश सदस्य बादशाह कुर्मीको प्रमुख अतिथी र जानकी गाउँंपालिका अध्यक्ष छब्बन खाँको विशिष्ट अतिथीमा वार्षिकोत्सव तथा सरस्वती पूजाको उद्घाटन घैटोमा बत्ती बालेर गरेका थिए । कार्यक्रममा बोल्दै कुर्मीले विद्यालयले आफ्नो वार्षिक उत्सव तथा सरस्वती पुजाको अवसर पारेर विज्ञान प्रदर्शनी अवलोकन गर्दा खुशी महसुस भएको बताउनुभयो । उनले वर्षभरि शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट कार्यप्रति विद्यार्थीलाई धन्यवादसमेत दिएका थिए ।
यस्तै जानकी गाउँंपालिका अध्यक्ष खाँले यो विद्यालय शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा जिल्लामा दोस्रो उत्कृष्ट स्थान हासिल गरेको र विद्यालयको स्तर अझै माथी उठाउन पालिकाले आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । विद्यालय आवतजावतमा विद्यार्थीलाई कठिनाइ भएको चिन्ता व्यक्त गर्दै दुई महिनामा बाटो निर्माण कार्य अगाडि बढाउन समेत उहाँले बताए ।
वार्षिकोत्सवको अवसरमा आधा दर्जनबढी व्यक्तिलाई सम्मान गर्दै विद्यार्थीले सांस्कृतिक, नृत्य र कराँतेका विभिन्न चरणहरुको प्रदर्शन समेत गरेका थिए । विद्यालय प्रांगणमा विज्ञान प्रदर्शनी स्टलसमेत बनाइएको थियो । विद्यालयका निर्देशक बिनोद कुमार वर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य प्रधानाध्यापक ओम प्रकाश वर्माले गरेका थिए भने कार्यक्रम सञ्चालन आंसिक शिक्षक आरिफ खानले गरेका थिए ।
कार्यक्रममा जानकी गाउँपालिका बाँकेका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक, विद्यालयका संस्थापक अब्दुल गफ्फार खान, शिक्षा शाखा प्रमुख कृष्णा कुमारी भण्डारी, रामअचल धोबी, पालिका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष टिकानाथ यादव, वडा नम्बर ४ का अध्यक्ष, रमेश कुमार वर्मा, विपद तथा वातावरण व्यवस्थापन प्राविधिक सहायक झुमी कुमारी ओली, विपद तथा वातावरण व्यवस्थापन समितीका संयोजक राजेन्द्र सिंह, समाजसेवी, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
बसन्त पञ्चमीको अवसर पारेर बाल विकास स्कुल मानपुरले मनायो भव्य वार्षिकोत्सव
