मो. अरशद शेष राई✍️
नेपालगन्ज । करीब ७ महिना अघि नेपालगन्जको सदरलाईन टाँगा स्टैण्डस्थित एक युवकलाई खुकुरी प्रहार गरि हत्या गरेर फरार रहेका एक युवकलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ टाँगा स्टैण्ड नजिक बस्ने ३० वर्षीय बिल्ली बच्चा भन्ने इरसाद राईलाई खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेका अभियुक्त जाजरकोट कुसे गाउँपालिका वडा नं ८ का २३ वर्षीय जगत सिंह ठकुरीलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता (डिएसपी) आयूश प्रसाद जोशीका अनुसार प्रहरीको खोजी सूचीमा रहेका ठकुरीलाई शनिबार राति करीब १० बजेतिर नेपालगन्जको वडा नम्बर ४, बसपार्कस्थित अछामी गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको बताएको छ ।
ठेलामा व्यापार गरेर गुजारा गर्दै आएका राईलाई असार २८ गते अन्दाजी १० :४५ बजेतिर स्कुटरमा आएका ठकुरीले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाई फरार भएका थिए । घटना लगत्तै राईलाई भेरी अस्पताल लगिएको केही समयपछि उपचारको क्रममा उनको मृत्यु भएको थियोे ।
राईको हत्यारालाई पक्राउ गर्न माग गर्दै परिवार र टोलवासीले मिलेर दुई पटक आन्दोलन समेत गरेका थिए । हत्यारालाई पक्राउ गर्न त्यस बेलाका नगरभवन अस्थायी प्रहरी चौकीका इन्चार्ज पूर्ण बस्नेतले घटनास्थल देखि त्रिभुवन चोकसम्माको सिसि टिभी समेत चेक गरेका थिए ।
