
नेपालगन्ज । नेपाल–भारत जमुनाहा सिमानाका आजदेखि तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तर प्रदेशस्थित बहराईच जिल्लामा यही वैशाख ३१ गते सोमबार हुन लागेको लोकसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न शुक्रबार राती १० बजेदेखि सोमबार राती १२ बजेसम्मका लागि सिमानाका पूर्णरुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाइएको हो ।
खुला सिमानाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले शुक्रबार साँझ ५ बजेदेखि सोमबार साँझ ६ बजेसम्म सिमानाका बन्द रहने जानकारी भारतीय पक्षबाट आएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिनुभयो । उहाँको अनुसार शुक्रबार राती १० बजेसम्म नाका आंशिक रुपमा बन्द गर्ने र त्यसपछि वैशाख ३१ गते साँझ सम्म पूर्णरुपमा बन्द गरिने छ ।
सीमा बन्द गरिएको अवधीमा एम्बुलेन्स लगायत अत्यावशयक सेवालाई दुबै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिने बताइएको छ । भारतबाट आउने नेपाली धेरै भएमा शुक्रबार र शनिबारसम्म आउन दिने जनाइएको छ । यसैगरी शुक्रबार रातीबाटै दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा समेत रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
नेपाल र भारत दुबै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगत लामो समयदेखि सीमा नाका सिल गरिने गरिएको छ । लोकसभाको निर्वाचनलाई नै लक्षित गरेर सुरक्षा कडा पार्न नाका बन्द हुनुभन्दा केही समयअघिबाटै सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती पनि गर्दै आएका छन् ।

