कहकँशा अन्जुम✍️
नेपालगन्ज । लागुऔषध कारोबारी पक्राउ गर्न बाँकेमा आज प्रहरीले गोली चलाएको छ । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ स्थित खुला कारागार नजिकै लागुऔषध कारोबारी पक्राउ गर्न बिहीबार विहान करीब साढे १० बजेतिर बाँके प्रहरीले गोली चलाएको हो ।
लागुऔषधको ठूलो कारोबार भइरहेको भन्ने खबर पाएलगत्तै लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीलाई देखेर भाग्न खोजेका कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।
डिएसपी डाँगीका अनुसार भाग्न लागेका कारोबारी कोहलपुर नगरपालिका वडा नम्बर १२ चपरगौंडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको बताए । उनको तिघ्रामा गोली लागेको छ भने उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा लगिएको डिएपी डाँगीले बताए ।
यस्तै सोही ठाउँका २७ वर्षीय शरण बहादुर कार्कीलाई नियन्त्रणमा लिएको बताए । उनीहरुको साथबाट १ सय १४ दशमलव २५ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण अनुसन्धानबाट खुल्ने बताइएको छ ।
