
नेपालगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी निर्णय गरेकै कारण आफूहरु अलग भएको नवगठित जनता समाजवादी पार्टी (जसपा)का महासचिव मोहम्मद इस्तियाक राईले बताएका छन् । यादवकै कारण जसपा नेपालबाट धेरै नेता, कार्यकर्ता बाहिरिएको उनले बताएका हुन ।
पार्टी विभाजनपछि नेपालगन्जमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले उपेन्द्रकै कारण विजय गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई लगायतका नेताहरुले अर्को पार्टी निर्माण गरेको जिकिर गरे । ‘पार्टीमा एकलौटी निर्णय गर्ने, नेता, कार्यकर्तालाई दाश सम्झिने, हैकमवाद लाद्ने उपेन्द्र जीको प्रबृत्तिले पार्टीबाट एकपछि अर्को बारिने अवस्था आएको हो,’ महासचिव राईले भने ।
उपेन्द्र यादवमा सत्ता मोह भएको बताउँदै सत्ता मोहका कारण मधेशी, जनजाती, थारु, मुस्लिम लगायतको आन्दोलनबाट प्राप्त उपलब्धि विर्सदै गएको उनले बताए । ‘मधेश लगायत विभिन्न आन्दोलनको मुद्धालाई विर्सेर आफूमात्र सत्तामा बस्ने उपेन्द्र यादवजीको प्रबृत्ति छ,’ उनले भने, ‘मधेशी, जनजाति, थारु, मुस्लिम लगायतबाट प्राप्त उपलब्धिको रक्षा र अधिकार स्थापित गर्न नयाँ पार्टी गठन गर्न परेको हो ।’
पार्टीलाई बलियो बनाउन पार्टीका नेता, कार्यकर्ताले दिएको सुझावलाई रद्दी टोकरीमा फाल्ने र आफू नजिकका नेता, कार्यकर्तालाई मात्र सदस्यता दिने अभियान थालेपछि पार्टीमा बस्नुको औचित्य नदेखेको महासचिव राईको भनाई छ । उनले महाधिवेशन प्रतिनिधि छनोटका बेला यादवले आफ्ना मान्छेलाई मात्र सदस्यता वितरण गरेको आरोप लगाउँदै मुल आयोजक कमिटी गठन समेत नगरेर महाधिवेशन गर्न खोजेको राईले बताए ।
‘अमेरिका जानुअघि कार्यकारिणीका अल्पमत सदस्यबाट निर्णय गराएर महाधिवेशन मुल समिति बनाउन खोज्नु भयो । उहाँ (उपेन्द्र) जीले पार्टीमा एकलौटी निर्णय गरि अगाडी बढ्न खोज्नु भयो,’ उनले भने, ‘महाधिवेशनलाई प्रदेश अधिवेशन जस्तो बनाउन खोज्नु भयो । यो सरासर गलत थियो । उहाँको हैकमवादी चरित्रबाट वाक्क दिक्क भएर अर्को पार्टी बनाउने निर्णयमा पुग्यौँ ।’
उनले पार्टी फुट्नुको कारण र उद्देश्यमाथि जानकारी दिन बाँके आएको बताउँदै उनले सबैजना जसपामा आबद्ध हुन आग्रह समेत गरे । ‘नयाँ पार्टी गठन भएपछि नेता, कार्यकर्तामा एक खालको अलमलको अवस्था आएको छ । नयाँ पार्टी गठनको औचित्य पुष्टि गर्न म बाँके आएको छु,’ उनले भने, ‘बाँकेका अधिकांश नेता, कार्यकर्ताले नयाँ पार्टीमा आवद्ध हुने प्रतिवद्धता जनाएको पाउँदा औधि खुसी लागेको छ । अलमलमा रहेका अरु नेता, कार्यकर्ताहरुलाई पनि जसपामा आवद्ध हुन आग्रह गर्दछु ।
जसपा बाँके सचिव राजेन्द्र बिश्वकर्माको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेशका कृषी मन्त्री भण्डारीलाल याद, लुम्बिनी प्रदेशसभा सदस्य आदेशकुमार अग्रवाल, जसपाका लुम्बिनी प्रदेश सदस्य असलम अन्सारी, माजिद शेख, जुनेद कादरी, थरुहट प्रदेश सचिव चिन्टु बर्मा, नेपालगन्ज उपमहानगरपालिका १४ का वडा अध्यक्ष मजहत साइँ, वडा नं. ५ का वडा अध्यक्ष सराफत खान, वडा नं. २२ का वडा अध्यक्ष गफ्फार हल्वाई, समाजबादी महिला संगठन बाँके अध्यक्ष गिता मल्ल लगायतको सहभागिता रहेको थियो ।
