Close sidebar

पत्रकार र मानव अधिकाबादी संघ, संस्थाको गम्भीर ध्यानाकर्षण : पत्रकार धम्क्याउने एसपी बोहरालाई तत्काल कारबाही गर्न माग

२०८० चैत्र २३ गते, शुक्रबार २२:२९

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार प्रकाशनको बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुवाषचन्द्र बोहराले दिएको धम्कीप्रति पत्रकार सम्वद्ध संघ, संगठन र मानव अधिकारबादी संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । नेपाल प्रेस युनियन बाँके, प्रेस चौतारी नेपाल बाँके, प्रेस सेन्टर नेपाल बाँके, प्रगतिशिल पत्रकार संघ बाँके, इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्ज र बार एशोसिएसन लगायत १३ मानव अधिकारबादी संस्थाले आज संयुक्त रुपमा छुट्टाछुट्टै विज्ञप्ती जारी निन्दा गरेका हुन ।

‘बाँकेका एसपी बोहराले तस्करबाट यसरी उठाउँन्छन पैसा’ शिर्षकको समाचार सदभाव राष्ट्रिय दैनिक पत्रिका र सेतोखरी डटकम अनलाइनमा प्रकाशित गरेको बिषयमा एसपी बोहराले आफू विरुद्ध समाचार रोक्न पत्रकार भण्डारीलाई धम्क्याएका थिए । कानून कार्यान्वयन गर्ने जिम्मेवार पदमा आसिन व्यक्तिले आफ्नो पदीय मर्यादा र जवाफदेहिता बिर्सिएर समाचारको विषयलाई लिएर पत्रकारलाई हतोत्साहित गर्ने र आतंकित पार्ने कार्यको कडा शब्दमा भत्सर्ना गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘सम्प्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए त्यसउपर कानूनी उपचारमा जान सकिने स्थापित पद्धति र प्रावधान छ, त्यसलाई बेवास्ता गर्दै बोहराले पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो, पत्रकारलाई हतोत्साहित र आतंकित पार्ने यस्तो धम्कीको कडा शब्दमा निन्दा गर्दछौं ।’

समाचार प्रकाशनका बिषयलाई लिएर दादागिरी शैलीमा पत्रकार धम्क्याउने एसपी बोहरालाई तत्काल कारबाही गर्न र यसरी पछिल्लो समय बाँकेमा पत्रकारमाथि निरन्तर भइरहेको आक्रमणका सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गर्न स्थानीय प्रशासन एवं सरकारसँग जोडदार माग गरिएको छ । ‘अन्यथा संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मानको पक्षमा र प्रेस स्वतन्त्रता विरोधी यस्ता कार्य विरुद्ध आन्दोलन गर्न बाध्य हुने छौं,’ विज्ञप्तीमा भनिएको छ ।

जारी विज्ञप्तीमा युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारीका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टरका जिल्ला अध्यक्ष राजेश आचार्य, प्रगतीशिल पत्रकार संघ, बाँकेका संयोजक तिलक गाउँले, इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका संयोजक भोला महत, नेपाल वार एशोसियसनका निवर्तमान उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, नेपाल उच्च बार एशोसियसन नेपालगन्जका अध्यक्ष चित्र बहादुर शाही, नागरिक समाज बाँकेका संयोजक कृष्ण श्रेष्ठ, एड्भोकेसी फोरम लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका संयोजक बसन्त गौतम, सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्र बाँकेका अध्यक्ष विश्वजीत तिवारी, फियान नेपालका संयोजक सुरेश गौतम, मानव अधिकार एलाइन्स केन्द्रीय समिति सदस्य प्रभात ठकुरी, अधिवक्ता विकास आचार्य, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेका अध्यक्ष बल बहादुर चन्द, कानुन पत्रका समाजका अध्यक्ष अधिवक्ता लोक बहादुर शाह, अधिवक्ता सुनिता शर्मा, अधिवक्ता हिरा बहादुर श्रेष्ठ लगायतले हस्ताक्षर गर्नुभएको छ ।

यसैबीच बाँकेका प्रहरी प्रमुख एसपी बोहोरा लगायत अन्य प्रहरी कर्मचारीहरुको बारेमा स्थानीय संचारमाध्यम तथा सामाजिक संजालमा प्रकाशन भएका समाचार र विभिन्न टिकाटप्पणीहरुका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको विशेष ध्यानाकर्षण भएको जनाएको छ । सो सम्बन्धमा छानबिन गरी सत्यतथ्य बुझ्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतको अध्यक्षतामा छानबिन समिति गठन गरि छानबिन प्रकृया अगाडी बढाइएको जनाएको हो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया