मो. ताहिर शेष राई (साहिल)✍️
नेपालगन्ज । इस्लाम धर्मवलम्बीहरुको पवित्र महिना रमजानको अन्तिम शुक्रबार पर्ने भएकाले आज मुस्लिम समुदायले जुमा तुल बिदा (अलविदा) पर्वको विशेष नमाज पढी हर्षोउल्लासका साथ अलविदा पर्व मनाएका छन । बाँके जिल्लाको सम्पूर्ण मस्जिदमा भक्तिभावका साथ भेला भएका ब्रतालुहरुले जुमा तुल बिदाको सामूहिक नमाज पढेर देशमा सुख, शान्ति र समृद्धिको कामना गरि अलविदा पर्व मनाएका हुन ।
नेपालगन्जस्थित जामा मस्जिद, फुलवारी मस्जिद, गौसिया मस्जिद, धम्बोझी मस्जिद, मदीना मस्जिद, ईदगाह मस्जिद, अन्सारीयान मस्जिद, फैजाने मदिना सहित मस्जिदहरुमा जुमा तुल बिदाको विशेष खुत्बा पढी सामुहिक रुपमा नमाज पढेका छन । विशेष नमाज अलबिदा सकिँदा रमजानको रोजा आफुबाट बिदा भएको धार्मिक मान्यता रहेको छ । यस दिनलाई सानो ईदका रूपमा पनि मनाइने धार्मिक अगुवाहरू बताउँछन् ।
इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको एक महिने व्रत (रोजा) शुरुको भएको आज २५ औं दिन पूरा हुँदै छ । रमजान इस्लामिक पात्रो अन्तर्गत एउटा महत्त्वपूर्ण महिना हो, यहि महिनामा धार्मिक ग्रन्थ कुरआन मजीद अवतरण भएकाले यो महिनालाई सबैभन्दा महत्त्वपुर्ण र पवित्र महिनाको रुपमा मानिन्छ ।
ईस्लामिक पात्रो हिजरी संवत् अनुसार रमजान नवौं महिना हो । यस महिनालाई ‘रमजानुल मुबारक’ पनि भनिन्छ । एक महिनासम्म चल्ने माहे रमजानमा इस्लाम धर्मावलम्बीहरुलाई उपवास ब्रत अनिवार्य बस्नुपर्छ, जसलाई रोजा भनिन्छ । रोजामा इस्लाम धर्मावलम्बीहरुले मिरमिरे बिहानदेखि सुर्यास्त नहुन्जेलसम्म प्रत्येक दिन एक महिना सम्म पानी समेत नखाई निराहार व्रत बस्ने गर्छन ।
रोजा जस्तो कठिन व्रत गर्ने ब्रतालुले यस महिनालाई पवित्र महिनाका रुपमा लिएको पाइन्छ । रोजा अशक्त, बिरामी, बालबालिका, गर्भवती महिला र महिनावारीको समयमा मात्र व्रत बस्न अनुमति नभएको धार्मिक धर्मगुरुहरू बताउँछन् ।
तीस दिनको यो रमजान महिनालाई तीन भागमा बाडिएको छ । पहिलो १० दिनको अवधिलाई रहमत (दयामाया) दोस्रो १० दिनको अवधिलाई बरकत (फलिपाप) र अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट क्षमा पाउने) मुस्लिमहरुले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन ।
यस महिनामा मुस्लिम समुदायले फितरा जनही एक किलो ७५० ग्राम गहुँ वा सो मुल्य बराबरको रुपैया निकाल्नु पर्छ, भने वर्षभरिको आमदानी र सम्पत्तिबाट अढाई प्रतिशत जकात (कर) निकालनु पर्छ । उक्त फितरा, जकात, विपन्न,, असहाय , दिनदुखी लगायत मदरसामा ईदको नमाज पढ्नु भन्दा अगावै दिनुपर्ने धार्मिक मान्यता रहेको छ । रमजानको अन्तिम दिन साँझ चन्द्रमा हेरेसँगै भोलिपल्ट ईदुल-फित्र मनाइन्छ ।


