
मो. अरशद शेष राई✍️
नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना ‘रमजान मुबारक’ का अवसरमा नेपालगन्जस्थित एक बोर्डिङ स्कूलले दोस्रो पटक रोजा इफ्तार कार्यक्रम सम्पन्न गरेको छ । सद्भावको सहर नेपालगन्ज वडा नं. ५ स्थित शाइनिंग फ्यूचर एकेडेमीले शुक्रबार दोस्रो पटक रोजा इफ्तार कार्यक्रम सम्पन्न गरेको एकेडेमीका प्रधानाध्यापक अब्दुल गफ्फार खानले जानकारी दिए ।
एकेडेमीको अगुवाइ र अलनूर च्यारेटी सोसाइटीको आर्थिक सहयोगमा रमजानको एघारौं दिन रोजदारहरुलाई लक्षित गरी दोस्रो पटक सामुहिक इफ्तार कार्यक्रम गरिएको एकेडेमीका अध्यक्ष उबैदुर रहमान फलाहीले बताए । सामुहिक इफ्तार कार्यक्रमले नेपालगन्जलाई सामाजिक एवम् धार्मिक सद्भावको सहरको रुपमा विश्वभर चिनाउन मद्दत गरेको छ, उनलेे भने ।
सामूहिक रोजा अफ्तार कार्यक्रममा उपस्थित करीब पाँच सय बढी रोजदारहरुले शुक्रबार साँझ ६ बजेर ३२ मिनेटमा मगरिब अजानपछि खजुर, पानी, बिरयानी, फलफूल, जुस लगायतका मीठो खानेकुरा खाएर रोजा इफ्तार गरेका थिए । रोजा समाप्त गर्ने बेलामा गरिने भोजनलाई इफ्तारी भनिन्छ । भने रोजा सुरु हुनुअघिको भोजनलाई सहेरी भनिन्छ ।
इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहे वसल्लमले भन्नुभयो कि ‘जसले रोजदारलाई रोजा इफ्तार गराउँन्छ, त्यो इफ्तार पापबाट मुक्ति र नर्कको आगोबाट घाटीलाई बचाउने कारण बन्नेछ । रोजा इफ्तार गराउनेलाई रोजा बस्ने जत्तिकै पुण्य प्राप्त हुनेछ, तर रोजा बस्नेको पुण्यमा कुनै कटौती हुदैंन् ।’
नेपाल लगायत दक्षिण र पूर्वी एशियाका धेरै देशहरुमा गत फाल्गुन २९ गतेदेखि शुरु भएको पवित्र महिना रमजान मुबारकका अवसरमा मुस्लिमहरुले एक महिने व्रत-रोजा सुरु गरेका छन् । सूर्योदय हुनु अघिदेखि सुरु भएको व्रत सूर्यास्तपछि मात्रै समाप्त हुन्छ । अरेबिक क्यालेण्डर अनुसार हिजरी पात्रो १४४५ हो भने रमजान नवौँ महिना हो ।
रमजानको एक महिना लामो उपवास अर्थात रोजा बसेर दिनमा पाँच समयको नमाज पढने, कुरआनको वाचन (तिलावत) गर्ने र रातीको समयमा नमाज-ए तराबीह पढ्ने गर्छन् । रमजान महिनाको अन्तिम दिन साँझ चन्द्रमा देखिएपछि भोलिपल्ट इस्लाम धर्मावलम्वीहरुले ईदुल-फित्र (ईद) पर्व मनाइने गर्छन ।


