
नेपालगन्ज । रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) पहाडी जिल्लामा आज र तराई/मधेशका जिल्लामा भोलि हर्षोल्लासका साथ मनाइँदै छ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । होली पर्वको अवसरमा आज काठमाडौंको वसन्तपुरमा भेला भई त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउने परम्परा रहेको छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । होलीमा कुनैपनि अप्रिय घटना हुन नदिन र सर्वसाधारणलाई सहज रुपले होली पर्व मनाउन विशेष सुरक्षा सतर्कता अपनाइएको छ । होली पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।


