
मो. अरशद शेष राई✍️
नेपालगन्ज । सदभावको सहर नेपालगन्जस्थित एक विद्यालयले रोजा इफ्तार कार्यक्रम सम्पन्न गरेको छ । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा शुक्रबार नेपालगन्ज वडा नम्बर ५ स्थित शाइनिंग फ्युचर एकेडेमीले रोजा इफ्तार कार्यक्रम सम्पन्न गरेको हो । एकेडेमीको अगुवाइमा र अलनूर च्यारेटी सोशाइटीको आर्थिक सहयोगमा रोजदारहरुलाई लक्षित गरी रमजानको चौथो दिन रोजा इफ्तार कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक अब्दुल गफ्फार खानले बताउनुभयो ।
इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहे वसल्लमले भन्नुभयो कि ‘जसले रोजदारलाई रोजा इफ्तार गराउँन्छ, त्यो अफ्तार पापबाट मुक्ति र नर्कको आगोबाट घाटीलाई बचाउने कारण बन्नेछ । रमजानको पवित्र महिनामा रोजा इफ्तार गराउनेलाई रोजा बस्ने जत्तिकै पुण्य प्राप्त हुनेछ, तर रोजा बस्नेको पुण्यमा कुनै कटौती हुदैंन् ।’
इस्लाम धर्मावलम्वीहरुले रमजानको एक महिना लामो उपवास अर्थात रोजा बसेर दिनमा पाँच समयको नमाज पढने, कुरआनको तिलावत गर्ने र रातीको समयमा नमाज-ए तराबीह पढ्ने गर्छन् । रमजान महिनाको अन्तिम दिन साँझ चन्द्रमा देखिएपछि भोलिपल्ट इस्लाम धर्मावलम्वीहरुले ईदुल-फित्र (ईद) पर्व मनाइने गर्छन ।
अरेबिक क्यालेण्डर अनुसार हिजरी पात्रो १४४५ हो भने रमजान नवौँ महिना हो । सो इफ्तार कार्यक्रममा ६ सय भन्दा बढी रोजदारहरुको उपस्थिति रहेको शाइनिंग फ्युचर एकेडेमीका अध्यक्ष उबैदुर रहमान फलाहीले जानकारी दिए ।



