Close sidebar

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आजदेखि शुरु

२०८० फाल्गुन २९ गते, मंगलवार १२:१०

मो. ताहिर शेष राई (साहिल✍️
नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना ‘रमजान’ आजदेखि शुरु भएको छ । हिजो (सोमबार) राती चन्द्रमा देखिएपछि नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायत दक्षिण र पूर्वी एशियाका धेरै देशहरुमा विशेष नमाज तरावीह पढेर आज (मंगलबार) देखि पवित्र महिना रमजानको रोजा (ब्रत) सुरु भएको हो ।

साउदी, कतार, यूएई लगायत पश्चिम एसियाका धेरै देशहरुमा एक दिनअघि सोमबारदेखि नै रमजानको रोजा शुरु भएको छ । तर आइतबार अरब देश ओमान र फिलिपिन्समा चन्द्रमा नदेखिएकाले यी दुई देशमा पनि आज (मंगलबार) देखि नै पवित्र महिना रमजानको रोजा शुरु भएको छ ।

इस्लामिक पात्रो हिजरी संवत् अनुसार ‘शाबान’ महिनाको अन्तिम दिन आकाशमा चन्द्रमा उदाएको भोलिपल्ट रोजा बस्न सुरु हुन्छ । यो महिनालाई इस्लाम धर्मको ५ खम्बा मध्ये एकको रुपमा पनि लिने गरिन्छ । यो महिनामा धूम्रपान, झुटो बोल्नु, शारीरिक सम्बन्ध राख्नु जस्ता कुराहरु धर्म विपरीत रहेकोे मुस्लिम धर्मगुरुहरु बताउँछन् ।

रोजा बस्ने व्यक्तिले सूर्योदय हुनुभन्दा झन्डै डेढ घण्टा पहिलेदेखि सूर्यास्त नहुन्जेलसम्म कुनै पनि खानेकुरा सेवन गर्दैनन् । रोजा बस्नले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, सत्प्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलता लगायतका आचरणमा विकास आउने विश्वास छ ।

यो महिनामा कुरानको वाचन, नमाज पढ्ने र गरिब एवं विपन्नहरूलाई सहयोग गर्ने अवसर पनि हो । रोजा नाबालक अवस्था, भोक तिर्खा सहन नसक्ने बुढ्यौली अवस्था, सिकिस्त बिरामी, रजस्वला भएकी महिला र सुत्केरीका लागि रोजा अनिवार्य छैन ।

रमजानमा जानीजानी खानपिन गर्नाले, शक्तिवद्र्धक सुई लिनाले, नशाबाट औषधि प्रवेश गराउनले अर्थात् स्लाइन चढाउनले, वीर्य स्खलन गर्नले र बान्ता निलेमा व्रत अन्त्य (भंग) हुने र शरीरमा तेल लगाउनले, दाँत माझ्नले, भुलेर खानपिन गर्नले, स्वप्नदोष हुनले, बान्ता हुनले, सुगन्ध वा सेन्ट लगाउँदा भने रोजा भंग नहुने धार्मिक अगुवाहरु बताउँछन्

सूर्यास्त भएपछि रोजा बस्नेहरुले केही खाने कुरा खाएर रोजा तोड्छन्, त्यस कार्यलाई इफ्तारी गर्नु’ भनिन्छ । विशेषगरी इफ्तारमा खजुर मिठाइ, फलफूल लगायत खानेकुरा खाइन्छ । रमजान महिनामा नै इस्लाम धर्मावलम्बीहरुको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया