
नेपालगन्ज । विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । आज बिहानैदेखि नेपालगन्ज वडा नम्बर १३ रामलिला मैदान स्थित सरस्वती मन्दिर, बागेश्वरी मन्दिर लगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लागेको छ ।
यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा-आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ ।
सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित सरस्वती माध्यमिक विद्यालय र खजुरा गाउँपालिका वडा नम्बर ५ उढरापुर स्थित प्रीफर एकेडेमी लगायत विभिन्न विद्यालयहरूले सरस्वती पूजाको विशेष कार्यक्रम समेत गरेका छन् ।
संगीत प्रशिक्षणको सुरुवात पनि यसै दिन गर्दा राम्रो हुन्छ भन्ने धार्मिक विश्वास छ । ज्ञानका स्रोत मानिने पुस्तक सहित संगीतका वाद्ययन्त्र तथा रङ-कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।


तस्वीरहरु: अरशद शेष राई/ न्युज फ्ल्यास खबर
