खजुरा, बाँके । हिन्दु र मुस्लिम समुदायको एउटै धार्मिक स्थल बन्दै आएको बाँकेको खजुरास्थित हजरत मुस्बेटवा बाबा मेला आजबाट शुरु भएको छ । हरेक बर्ष बसन्त पन्चमीका दिनदेखि खजुरा गाउँपालिका वडा नम्बर ४ स्थित एक नम्बरमा ३ दिनसम्म लाग्दै आएको परम्परागत मुसबेटवा मेला बुधबारबाट शुरु भएको हो ।
सयौं बर्ष पुरानो मानिएको मुसबेटवा बाबा मेलाको बुधबार एक कार्यक्रमका बीच खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, उपाध्यक्ष मन्जु मल्ल, वडा नम्बर ४ का अध्यक्ष टेक बहादुर रोकाया, युवा नेता सतिश निरौला, प्याब्सन लुम्बिनी प्रदेश उपाध्यक्ष ऋषिकेस जिसी लगायतले सामुहिक रूपमा मजारमा च्यादर ओढाएर उदघाटन गरेका छन ।
खजुरा क्षेत्रमा मानव बस्ती बस्नु अगाडी दुईजना धार्मिक बाबाले मजारको स्थापना गरेको इतिहास बोकेको मजारलाई हिन्दु र मुस्लिम दुबै समुदायले धार्मिक स्थल मान्दै आएका छन । जनश्रूतिलाई आधार मान्ने हो भने कुनै समय यहाँ घनघोर जङ्गल थियो, जङ्गलमा एक मुस्लिम बाबा र एक हिन्दु बाबा बस्ने गर्दथे । मुस्लिम बाबा बाघमा सवार हुने गरेको र हिन्दु बाबासङ्ग पनि अलौकिक शक्ति रहेको बिश्वास छ ।
खजुरा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रोकायाले मजारमा च्यादर र प्रसाद चढाएर मन्नत मागे चाडैं नै पुरा हुने जनविश्वास समेत रहँदै आएको बताए । यस्तै पालिका अध्यक्ष बिकले मुसबेटवा मेला खजुराको पहिचान बनेको बताए । हरेक बर्ष बाबाको मजारमा लाग्ने मेला शान्ति र सद्भावको सन्देश प्रवाह गरिरहेको समेत उहाँले बताउनुभयो ।
मुसबेटवा बाबा मजारमा भाकल गर्दा मनोकामना पुरा हुने धार्मिक विश्वास छ । धार्मिक एकता र भाइचाराको संदेश दिँदै लाग्दै आएको मेलामा हिन्दू–मुस्लिम समुदायका मानिसहरुले मुस्बेटवा बाबा मजारमा पुजा-आजा गर्ने, च्यादर चढाउने र फुलप्रसाद चढाउने श्रद्धालुहरूको भिड लाग्ने गर्दछ ।
खजुरामा भेटिने पुराना बुढा पाकाहरुलाई सोध्ने हो भने आफु केटाकेटी हुँदा पनि मेला घुमेको सुनाउँछन्, त्यसैले यो मेला कति बर्षदेखि लाग्दै आएको हो, भने पूर्ण समय थाहा हुन नसके पनि सयौं बर्षदेखि परम्परागत मेला लाग्दै आएको उनीहरु बताउँछन् । मेलामा बाँके, बर्दिया तथा छिमेकी जिल्लाहरु सहित भारतीय सिमावर्ती गाउँ र शहरबाट समेत मेला भर्न र मजारमा पूजा अर्चना गर्न आउने गर्दछन ।