सुनसरी । ठुलो परिमाणमा नक्कली नेपाली नोट सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इनरुवा नगरपालिका – ४, स्थित पूर्व-पश्चिम लोकमार्गमा चेकजाँच गर्ने क्रममा भारतको विहार राज्य सुपौल जिल्ला थाना वीरपुर निवासी छोटु भन्ने मोहम्मद शैयाद साफीलाई प्रहरीले झण्डै २ करोड बराबरको नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो ।
सुनसरीको खोला पुलनजिकै ट्राफिक प्रहरीले सवारी चेकजाँचका क्रममा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सेतो रङ्गको बीआर ११ एक्स ३४२९ नम्बरको भारतीय नागरिक साफीले चलाएको स्कोरपियोबाट कालो ब्यागभित्र सेतो बोरामा राखिएको १००० दरका १८ हजार २५१ थान नक्कली नेपाली नोटको कुल एक करोड ८२ लाख ५१ हजार रुपियाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गर्दै बरामद भएको नक्कली नेपाली नोट, भारतीय गाडी र भारतीय नागरिक साफीलाई प्रहरीले सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्नेक्रममा शङ्का लागेर पछाडिको डीक्कीमा राखिएको अवस्थामा बरामद गरेको जानकारी दिनुभयो ।
पक्राउ परेका साफीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रासम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरी प्रवक्ता (डिएसपी) नबीनकृष्ण भण्डारीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा १० वर्षसम्म कैद र ५० हजार रुपियाँ देखि एक लाख रुपियाँ सम्म जरिवाना हुने व्यवस्था रहेको जानकारी दिनुभयो ।
