काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को नविकरण अवधि १० वर्ष बनाउने तयारी गरको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष बनाउने तयारी गरेको हो ।
यसका लागि सवारी तथा यातायात व्यवस्था विधेयक – २०८० को मस्यौदा निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ । सवारी तथा यातायात व्यवस्था ऐन – २०४९ लाई संशोधन गर्दै सवारी तथा यातायात व्यवस्था ऐन – २०८० जारी गर्न लागिएको मन्त्रालयका एक अधिकारीले बताए ।
सोही विधेयक मार्फत सरकाले हाल पाँच वर्ष रहेको सवारी चालक अनुमतिपत्रको नविकरण अवधि १० वर्ष हुनेगरी व्यवस्था लागू गर्न लागिएको ती अधिकारीको भनाई छ । उनका अनुसार संशोधन सहितको विधेयकमा ठूला सवारी साधन चलाउनका लागि चालकको उमेर २३ वर्ष, मझौला तथा साना चार पांग्रे सवारी साधन चलाउन २१ वर्ष र दुई पांग्रे सवारी साधन चलाउन १८ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था पनि गर्न लागिएको छ ।
योसँगै सरकारले जारी गर्न लागेको संशोधित विधेयकमा मोटरसाइकल वा अन्य दुई पांग्रे सवारी साधन चलाउँदा चालक र पछाडि बस्ने यात्रुले अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने व्यवस्था पनि गरिएको बताइएको छ ।
