
नेपालगन्ज / नेपालगन्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस राप्ती नदीमा खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार राति करीब साढे १० बजेतिर दाङ देउखुरी – १, भालुवाङस्थित राप्ती नदीको पुलबाट रेलिङ भत्काउँदै बस तल नदीमा खसेको हो । 
प्रहरीका अनुसार अहिलेसम्म २५ जनाको उद्धार गरिएको छ । घाइतेहरुलाई भालुवाङ, लमही र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बस आधा नदीमा डुबेको अवस्थामा रहेकाले क्रेनको सहायताले बस नदीबाट निकाल्ने कार्य भइरहेको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्वल सिंहले बताउनुभयो ।

बसमा करिब ३५ जना यात्रु सवार रहेको बताइएको छ । केही यात्रु अझै हुन सक्ने प्रहरीले अनुमान गरेको छ । नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । मृतकहरुको सनाखत हुन बाँकी रहेको र अन्य विवरण संकलन भइरहेको उनले बताए ।
