मो. ताहिर शेषराई (साहिल)
नेपालगन्ज / केही दिनयता बाँकेमा अत्यधिक चिसो बढेपछि जानकी गाउँपालिका वडा नम्बर ५ ले ज्येष्ठ नागरिक तथा असहाय परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ । लक्षित कार्यक्रम अन्तर्गत बुधबार वडा कार्यालयमा आयोजित एक कार्यक्रममा १०५ वर्षीय नियामत अली मनिहार सहित ६८ वर्ष माथिका ३ सय ७५ जना ज्येष्ठ नागरिक तथा असहाय परिवारलाई सम्मान गर्दै कम्बल वितरण गरिएको हो ।
जानकी गाउँपालिका बाँकेका अध्यक्ष छब्बन खाँको प्रमुख अतिथि र वडा नम्बर ५ का वडाअध्यक्ष टिकानाथ यादवको अध्यक्षतामा भएको कार्यक्रममा पालिका अध्यक्ष छब्बन खाँले पहिलो प्राथमिकता ज्येष्ठ नागरिक रहेको र आफूहरूले ज्येष्ठ नागरिकहरू प्रति संवेदनशील भएर काम गरिरहेको बताउनुभयो । ज्येष्ठ नागरिकको उचित हेरचाह र स्वास्थ्यको चिन्ता गरेर नै पालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण व्यवस्थापन गरेको बताए ।
कार्यक्रममा गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत एवं योजना शाखा प्रमुख शोभा पौडेल, कार्यपालिका सदस्य निर्मला हरिजन, कान्ती काँन्दु र ५ नम्बरका वडा सदस्य मो. सरीफ खाँले मन्तव्य व्यक्त गरेका थिए । ज्येष्ठ नागरिकहरु प्रति जनप्रतिनिधि र स्थानीय सरकार उत्तरदायी रहेको र उहाँहरूको सम्मान स्वरूप वडाले कम्बल वितरण गरेको वडाअध्यक्ष यादवले जानकारी दिए । 
विपद् तथा वातावरण व्यवस्थापन समितिका शाखा प्रमुख राजेन्द्र बाजपेयीले सञ्चालन गरेको कार्यक्रममा वडा सचिव सुरज हरिजन, ज्येष्ठ नागरिक, कर्मचारी, पत्रकार लगायतको उपस्थिति थियो ।

