
नेपालगञ्ज / बाँकेको जानकी गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । पालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाईमा सरोकारवाला र सहभागिहरु बिचमा झण्डै अढाई घण्टा भएको दोहोरो प्रश्नोत्तर पश्चात ६ बुँदे प्रतिबद्धता घोषणा गरिएको हो ।
प्रतिबद्धताहरुमा पालिकाभित्र सञ्चालित सडक योजनाहरुमा नाला निर्माण नहुँदा डुवानको समस्या देखिएको र ठेकेदार कम्पनीलाई जानकारी गराउँदा समेत अटेरी गरिरहेकोले पाईएकाले तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्ने, पालिकाभित्र जडान गरिएका सडक बत्तीको मर्मत तथा जडानका लागि बिद्युत प्राधिकरणसँग समन्वय गर्ने, लक्षित वर्ग उत्थान कार्यक्रम हालसम्म सञ्चालन नै नभएको पाईएकाले यथासक्य पारदर्शीरुपमा कार्यक्रम सञ्चालन गर्ने, पालिकाभित्र रहेका बिद्यालयहरुको स्तरउन्नती गर्ने, शैक्षिक सुधारका लागि योजनासहित काम गर्ने, रेडक्रसमार्फत हुने कार्यक्रममा आवश्यकता अनुसार सहकार्य गर्ने, कृषकहरुले समयमा मलखाद नपाएको गुनासो आएकाले आगामी दिनमा गुनासो नआउने गरी समयसिमाभित्र मलखाद वितरणको ब्यवस्थापन गर्ने तथा कृषकहरुका समस्या तथा गुनासो समाधान गर्ने र कालीकापुरमा बाटो निर्माणका लागि बिनियोजन गरिएको ४५ लाख रकम रकमान्तर गरिएको पाईएकाले जरुरी उक्त योजना चालु आर्थिक बर्षभित्र नै गर्ने गरी आवश्यक बजेट ब्यवस्थापन गर्ने रहेको छ ।
बास नेपालको सहजिकरणमा भएको कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा सुनुवाईको उद्धेश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको घोषणा बास नेपालका निर्देशक हेमराज भट्टले गर्नुभएको थियो ।
बासका उपाध्यक्ष शिव कुमार बर्माले सहजिकरण गरेको सुनुवाईको शुरुवातमा पालिकाले गरेको कार्यक्रम तथा प्रगतिको बारेमा प्रमुख प्रशासकिय अधृिकत दिल बहादुर पौडेलले गर्नुभएको थियो । सुनुवाईमा सहभागिहरुले उठाएका प्रश्नहरुको जवाफ गाँउपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेल, वडा अध्यक्षहरु, शाखा प्रमुखहरुले दिएका थिए ।
