
काठमाडौं / ईपीएस परीक्षार्थी र प्रहरीबिच भएको झडपमा परी मृतकको सङ्ख्या दुई पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतका अनुसार डोटी घर भएका २२ वर्षीय विरेन्द्र शाहको पाटन अस्पतालमा मृत्यु भएपछि मृतकको सङ्ख्या दुई पुगेको हो । यसअघि दैलेख घर भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा मृत्यु भएको थियोे ।
ललितपुर क्षेत्रमा भएको झडपमा परी सडकमा अचेत अवस्थामा राउत फेला परेपछि स्थानीयले उठाएर शुक्रबार दिउँसो करीब १२ः४० बजेतिर इमाडोलस्थित किस्ट अस्पताल पुर्याएका थिए । उपचारका क्रममा उहाँको १ः१७ बजे निधन भएको अस्पतालका सिइओ अमिश पाठकले पुष्टि गरे । मृतक राउतको छातीमा नीलडामहरु देखिएका सिइओ पाठकले बताए ।
यसअघि दक्षिण कोरियामा रोजगारीको अवसर उपलब्ध गराउने (ईपीएस) कोटाअन्तर्गत नेपालमा लिइने भाषा परीक्षामा आफूहरुलाई पनि सहभागी गराउनुपर्ने माग सहित प्रदर्शन गरिरहेका युवाहरुमाथि प्रहरीले बल प्रयोग गरेपछि आन्दोलनरत इपीएस परिक्षार्थीहरुले एउटा मन्त्रीको सरकारी गाडीमा आगजनी गरेका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने बा. २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेपछि बालकुमारी क्षेत्र तनावग्रस्त छ । प्रहरीले अश्रुग्यास र गोली समेत प्रहार गरेको छ । गाडी आगजनीमा संलग्न भएको आरोपमा दर्जनौँ प्रदर्शनकारीलाई पक्राउ समेत गरेको प्रहरीले जनाएको छ ।
