सागर गैरे✍️
लोक बहादुर आले सडक बिभागका ड्राइभर थिए । सडकसँग जोडिएको थियो उनको घर । आफ्नो घर अगाडि उनले कतैबाट एउटा पिपलको रुख ल्याएर रोपेका थिए । लोक बहादुर र उनकी श्रीमतीले त्यो पिपलको रुखमा मलजल र तारबार गरेर संरक्षण गरे । त्यो पिपलको रुख बिस्तारै हुर्कियो । दिन बित्दै जाँदा पिपलको बोटको नामबाट त्यस ठाउँको परिचय बन्यो । मानिसहरुले त्यो ठाउँलाई पिपल चौतारा नाम दिए ।
कर्ण बहादुर थापा, हरिभक्त अधिकारी, रोमहर्ष धिताल, बासुदेव शर्मा, ईश्वरी पौडेल लगायतका ब्यक्तीहरुले देउसी भैली खेलेर जम्मा गरेको पैसाले पिपलको रुखमुनि चौतारी बनाए । कम्युनिस्ट काँग्रेसले बनाएको चौतारीको आरोप लगाउँदै रातको समयमा चौतारी कसैले भत्काईदिएछन । २०४९ सालमा नगर बिकास समितिले केही बोरा सिमेन्ट सहयोग गरेपछि स्थानीय जनताको श्रम सहयोगमा फेरि चौतारी चिन्ने कामले पूर्णता पायो । पिपल चौतारा बिस्तारै कोहलपुरको चिनारी बन्यो । छोटो समयमै पिपल चौतारा कोहलपुरको मुटुको रुपमा चिनिँदै गयो ।
२०७२ सालमा कोहलपुर – नेपालगन्ज सडक बिस्तार क्रममा पिपल चौतारा मासिने भयो । पिपल चौतारा आफ्नै अगाडि नासिएको दृष्य कोहलपुरबासीले टुलुटुलु नियाले । पिपल चौताराको अस्तित्व मेटिएको पनि बर्षौँ भैइसक्यो । अहिले पनि मानिसहरु पिपलचौताराको हालखबर सोध्छन । नगरबस अहिले पनि पिपल चौतारा झर्नुस है भन्दै गाडी रोकेर प्यासेन्जर उतार्छन । पिपलको रुख काटिँदै गर्दाको दृष्य धेरैले नियालेका थिए । त्यस मध्येको एक साक्षी म पनि थिएँ । (उहाँको फेसबुक पेजबाट साभार)
