
नेपालगञ्ज / अल्पसंख्यक तथा यौनिक समुदायको पहिचान र अधिकारको लडाईमा हातेमालो आवश्यक रहेको औल्याइएको छ । लैंगीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाँकेले पश्चिम तारा नेपालसँग आज नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा सो कुरा औल्याइएको हो । अल्पसंख्यकको सवाल उनीहरुको मानवीय र कानूनी अधिकारको पनि मुद्धा भएकाले राज्यका संयन्त्र, स्थानीय सरकार, अधिकारवादी लगायतको सामुहिक सहकार्य जरी रहेको बताइएको हो ।
सुरक्षा अधिकारी, महिला तथा बालबालिका सम्वद्ध अधिकारी, अधिकारकर्मी, सञ्चारकर्मी, अल्पसंख्यक लगायत को सहभागिता रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेकी प्रहरी निरीक्षक महेश्वरी विष्टले बाँके जिल्लामा लैंगीक हिंसाको अवस्था, चुनौती र प्रहरीबाट भए गरेका प्रयासहरु र पश्चिम तारा नेपालका संयोजक परिना चौधरीले अल्पसंख्यकले भोग्नु परिरहेको समस्या, चुनौती र सम्भावना लगायतका सन्दर्भमा विस्तृत जानकारी तथा तथ्य प्रस्तुत गर्नु भएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले अल्पसंख्यकले लैगींक हिंसा लगायत अनेकन चुनौतीको सामना गरिरहेको स्वीकार्दै कानूनले दिएको अधिकार प्रयोग गर्न कहीं कतै अफठ्यारो नहुने विश्वास दिलाउनु भयो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवाष चन्द बोहराले अल्पसंख्यकमाथि यौनजन्य लगायत हिंसा भईरहेको गुनासो आएपनि औपचारिक उजुरीहरु नआउने गरेकोे भन्दै प्रहरीबाट हुन सक्ने संरक्षण र न्यायका लागि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण डाँगीद्धारा स्वागत गरिएको कार्यक्रमामा प्रस्तुत तथ्यांक अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा आव ७९ र ८० आठ सय ५८ वटा उजुरी परेकोमा चार सय ७३ मिलापत्र गरिएको एक सय १८ वटा सम्वन्धित निकाय पठाइएको र दुई सय ६७ निवेदक उपस्थित नभएको देखाइएको छ । यस्तै यसअघि आव ७८, ०७९ मा आठ सय ८९ उजुरी आएकोमा पाँच सय २६ मिलापत्र गराइएको थियो भने एक सय ३२ सम्बन्धित निकायमा पठाइएको थियो । यस्तै दुई सय ३१ जना उपस्थित नै नभएको देखिन्छ ।
