नेपालगन्ज / बिवादित बनेको महासचिव पदको मतगणना गर्न ढिलाई गरेको भन्दैं साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले नेपालगन्ज उद्योग वाणिज्य संघमा तालाबन्दी गरिएको छ । महासचिव पदको आफना उम्मेदवार टंक प्रसाद शर्मालाई सुनियोजित तरिकाले पराजित गरिएको भन्दै त्यसको बिरुद्धमा शुक्रबार साझ संघको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको हो ।
निर्वाचन आयुक्त टिकाजंग सिंहले सम्पुर्ण मतपत्र गणना नभएको अवस्थामा नतिजा सार्वजनिक गरेको भन्दै त्यसको विरुद्धमा संघमा अनिश्चितकालिन तालाबन्दी गरिएको नवनिर्वाचित कोषाध्यक्ष मख्खन धामीले बताउनुभयाे । ताला लगाउने क्रममा उहाँले भन्नुभयाे,‘निर्वाचन आयोगको जुन किसिमको रबैया छ, एकपक्षिय रुपमा निर्णय गरिएको छ । त्यसको बिरोध गरिएको हो । निर्वाचन टिमले स्वच्छ र धाधलीरहित निर्वाचन सम्पन्न गर्नु पर्ने हो । तर निर्वाचन आयोगले त्यस्तो नगरीकन हाम्रा उम्मेदवारलाई सुनियोजित रुपमा पराजित गरिएको छ ।’
महासचिव पदको पुनः मतगणना नहुँदासम्म साझा प्रजातान्त्रिकबाट विजेता बनेका पदाधिकारी र सदस्यहरुले सपथ नलिने धामीले घोषणा गर्नुभयाे । उहाँले अगाडी भन्नुभयाे,‘हाम्रो आन्दोलन अनिश्चितकालिन रुपमा भएको छ । प्रमुख निर्वाचन आयुक्तको गलत क्रियाकलापको हामी घोर भत्र्सना गछौं । यो न्यायको लडाईमा सरिक हुन हामी सम्पुर्ण नेपालगन्जवासी र संघका साधारण सदस्यहरुलाई अपिल गर्दछौं । सत्यको जित हुनुपर्छ । हामीलाई हार पनि स्वीकार्य छ, जीत पनि स्वीकार्य छ । तर त्यो मतदाताले मतदान गरेको मतपत्रबाट हुनु प¥यो ।’
महासचिव पदको मतगणनामा विवाद आएपछि प्रमुख निर्वाचन आयुक्त सिंहले मंगलबार बिहान ८ बजेदेखि पुनः मतगणना गर्ने भनेर विज्ञप्ती जारी गर्नुभएकाे थियाे । तर मंगलबार बिहानै सिंह अस्पताल भर्ना भएपछि पुनः मतगणना सुरु हुन सकेन । पछि सिंहले अर्को विज्ञप्ती जारी गर्दै तीन दिन सम्मको पुनः मतगणना कार्य स्थगित भएको जानकारी गराउनुभएकाे थियाे । मंगलबार बिहानै मतगणना स्थलमा भिडभाड बढेको थियो । तर प्रमुख निर्वाचन आयुक्त बिरामी भएर वेस्टर्न अस्पतालमा भर्ना भएपछि मतगणना कार्य प्रभावित बनेको हो ।
प्रमुख निर्वाचन आयुक्त सिंहले महासचिव पदको नतिजा सार्वजनिक गरेपछि विवादमा तानिनुभएकाे थियाे । महासचिव पदका उम्मेदवार शर्माले सम्पुर्ण मतपत्र गणना नभएको अवस्थामा नतिजा सार्वजनिक गरेको भन्दै पुनः मतगणना गर्नुपर्ने माग राख्दै निर्वाचन कार्यालयमा निवेदन दिनुभएकाे थियाे । त्यसपछि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले निर्वाचन कार्यालयमा तालाबन्दी गरिरहेका छन् ।
सोमबार १ हजार ९ सय २६ मत प्राप्त गर्नुभएका समावेशी प्यानलका उम्मेदवार भिमराना भाटलाई निर्वाचन अधिकारीले विजेता घोषणा गर्नुुभएकाे थियाे । साझा प्रजातान्त्रिकका शर्माले १ हजार ९ सय २० मत पाउनुभएकाे थियाे । ६ मत अन्तरले रानाभाटलाई विजेता घोषणा गरिएको थियो । सम्पुर्ण मतपत्र गणना नगरिकन नतिजा सार्वजनिक गरिएको भन्दैं विवाद उत्पन्न भएको थियो । निर्वाचन कार्यालयका अधिकारीहरुको लापरबाही कारण विवाद उत्पन्न भएको व्यवसायीहरुले आरोप लगाएका छन ।
महासचिव पदमा केही छुटफुट मतपत्रपछि गणना गर्नको लागि एउटा खाममा राखिएको थियो । जुन गणना भएको थिएन् । खाममा भएको उक्त मतपत्र गणना नगर्दै निर्वाचन कार्यालयले महासचिवमा भाटलाई विजेता घोषणा गरेको थियो । यसैबीच मतगणनास्थल नेपालगन्ज रंगशालामा पनि शुक्रबार राति ताला लगाउन खोज्दा प्रहरी र प्रजातान्त्रिक समूहबीच धकेलाधकेल भएको छ । समूहका नेता कार्यकर्ताहरुले निर्वाचन कमिटी र प्रहरी विरुद्ध नारावाजी समेत गरेका थिए ।
