
नेपालगन्ज / नेपालगन्ज सुन चाँदी व्यावसायी संघ बाँकेको सातौं वार्षिक साधारण सभा तथा भवन समुद्घाटन सम्पन्न भएको छ । नेपाल सुन चाँदी व्यावसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको प्रमुख अतिथित्वमा र बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य एवं सांसद डा. धवल शमशेर राणाको अतिथिमा शनिबार दिन पानसमा बत्ती बालेर र नवनिर्मित भवनको रिभन काटेर उद्घाटन गरेका हुन ।
सभालाई सम्बोधन गर्दै सांसद राणाले सुनचाँदी व्यावसायीले पनि राज्यको नीतिगत उल्झनका कारण व्यावसायीहरुले विभिन्न खाले समस्याहरू झेल्नु परेको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उहाँले नयाँ कार्यसमितिमा चयन भएका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।
यस्तै महासंघका अध्यक्ष माणिक रत्न शाक्यले नेपालगन्ज सुनचाँदी व्यावसायीहरुको सवालमा राज्यले स्पष्ट नीतिगत निर्णय लिन नसक्दा सुनचाँदी व्यावसायीहरु प्रहरी प्रशासनबाटै पीडित बन्नुपरेको गुनासो गर्नुभयो । उनले सुनचाँदी व्यावसायीहरुले राज्यको नीतिगत समस्याका कारण पीडित बन्नुपरेका समेत बताए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, सुनचाँदी व्यावसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष बुद्धिबहादुर विक, सुनचाँदी व्यवसायी संघका कोषाध्यक्ष शुकनारायण सोनी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
नेपालगन्ज सुनचाँदी व्यवसायी संघका अध्यक्ष सलाउद्दिन जसगढको सभापतित्वमा भएको साधारण सभामा एसईई उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाणपत्र र उपहार स्वरूप नगद रकम दिएर करीब आधा दर्जन छात्र छात्रालाई सम्मान गरेको थियो । साधारण सभामा करीब पाँच सय भन्दा बढी सुन व्यावसायी तथा कालिगढको सहभागिता रहेको थियो ।
