
नेपालगन्ज / जन्मका आधारमा नागरिकता वितरण सुरु गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा नागरिकता लिने सेवाग्राहीको भीड विस्तारै बढ्न थालेको छ । वंशजको नागरिकता लिनका लागि दैनिक पाँच सयसम्म मानिस पुग्न थालेपछि एक दिनमा सय जनाको मात्र आवेदन लिन थालेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार जनशक्तिको अभावले गर्दा सबैलाई नागरिकता दिन नसकिएको जनाउँदै सहजताका लागि अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । टोकन प्रणाली सुरु गरिएपछि सेवाग्राहीलाई सहज भएको र सो बाट आफूले कहिले नागरिकता पाउने जानकारी हुने गरेकोले दिनदिनै प्रशासन धाउनुपर्ने बाध्यता समेत हटेको सेवाग्राहीले बताएका छन् ।
असार १० गतेबाट जन्मको आधारमा नागरिकता वितरण सुरु गरिएकोमा हालसम्म ४ सय २३ जनालाई नागरिकता वितरण गरिसकिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनुभयो । अहिले एक दिनमा सय जनालाई मात्र नागरिकता वितरण गर्न सकिएको छ, प्रजिअ आचार्यले भने ।
जन्मको आधारमा बाँकेमा मात्रै १० हजार बढीले टोलीबाट नागरिकता लिएका थिए । उनीहरुका करिब २५ हजार बढी सन्तानलाई वंशजको नाताले नागरिकता वितरण गर्नुपर्ने छ । नागरिकता लिन आउनेको घुँइचो अनुरुप सरकारले कर्मचारीको व्यवस्थापन गर्न नसक्दा सेवाग्राही मारमा परेको केही सेवाग्राहीको गुनासो छ ।
