
नेपालगन्ज / राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवन चोक शाखाका प्रबन्धक ललित कुमार शाहीलाई दोषी ठहर गर्दै विशेष अदालतले ८ वर्ष कैद र १ करोड २५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा प्रबन्धक शाही समेतका कर्मचारीले किर्ते कागजातको आधारमा किर्ते धितो मूल्यांकन गरी कर्जा प्रवाह गरेको अभियोजन सहित मुद्दा दर्ता गरिएको थियो । यसबाट सरकारी सम्पत्तिको नोक्सानी भएको ठहर सहित अख्तियारले मुद्दा चलाएको भएपनि अदालतबाट आंशिक ठहर हुने गरि फैसला भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढलाई ऋण लगानी गर्दा बैंकलाई झुक्याएर १ करोड २५ लाख रुपैयाँ ऋण प्रवाह गरेको अभियोगमा २०७७ जेष्ठ २७ गते शाही पक्राउ परेका थिए । शाहीसँगै रिजवान अहमद जसगढलाई पनि सो मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । उनलाई एक वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको छ । यस मुद्दामा अभियोजन दर्ता भएका अन्य ६ प्रतिवादीले भने सफाई पाएका छन ।
शाहीमाथि जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्सा र कर तिरेको रसिद लगायतका सरकारी कागजात किर्ते गरेको आरोप थियो । शाही, जसगढसहितको ८ जनामाथि मालपोत कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षर समेत किर्ते गरेको आरोप लगाइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाही र अहमद समेत ८ जनालाई प्रतिवादी कायम गरी १४ पुस २०७७ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरेको अढाई वर्षपछि अदालतबाट फैसला आएको हो ।
