नेपालगन्ज / भोलि (आइतबार)देखि बाँकेका सम्पूर्ण सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने नेपाल विद्यालय कर्मचारी परिषद्ले घोषणा गरेको छ । गत जेष्ठ २० गतेदेखि आन्दोलनरत विद्यालय कर्मचारीको माग सम्बोधन नहुँदासम्म तालाचाबी विद्यालयमा बुझाएर आन्दोलित रहेका कर्मचारीहरुले आइतबार असार ३ गतेदेखि अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने घोषणा गरेका हो ।
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा लगायतका विषयलाई गत जेष्ठ १५ गते नेपाल सरकारको निति तथा कार्यक्रमले सार्वजनिक बजेटमा सम्बोधन नगरेको भन्दै गत जेष्ठ २६ गतेसम्म पालिका र जिल्ला शिक्षा समन्वय इकाईमा धर्ना दिएका थिए । नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष कृष्ण कुवँरले केन्द्रिय सर्कुलेसन अनुसार बाँकेमा आइतबार ३ गतेदेखि विद्यालय बन्द गरी आन्दोलन गर्ने बताउनुभयो ।
कुवँरले प्रमुख जिल्ला अधिकारीलाई शुक्रबार नै आफ्ना मागप्रति सरकारले कुनै किसिमको चासो नराखी वेवास्ता गरेको भन्दै यहीँ असार ३ गते सामुदायिक विद्यालयहरु बन्द गर्न बाध्य भएको भन्दै पत्र समेत बुझाइ सकेको बताए । परिषद्ले शिक्षा विकास तथा समन्वय इकाई बाँके, ८ वटै स्थानीय तह, सम्पूर्ण सामुदायिक विद्यालय र विभिन्न पेशागत शिक्षकका संगठनलाई समेत उक्त पत्र बोधार्थ पठाएको छ ।
नेपाल सरकारको नीति तथा कार्यक्रमले ‘सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा लगायतका विषयलाई सम्बोधन गरिनेछ’ भनेर उल्लेख गरेको थियो । तर, गत जेष्ठ १५ गतेको बजेटले हाम्रा माग सम्बोधन नभएपछि आन्दोलित भएका छौं । यतिमात्र होइन सेवा सुविधामा समेत विभेद छ, सरकारले पटक–पटक जनाएको प्रतिबद्धता कार्यान्वयन नगरेकाले गर या मरको स्थितिमा पुगेको अध्यक्ष कुवँरले भने । बाँके जिल्लामा अहिले करिब २ सय भन्दा बढी कर्मचारी रहेका छन् ।
