
कोहलपुर / बाँकेको कोहलपुरमा रहेको कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा आज तालाबन्दी गरिएको छ । यहीँ जेष्ठ २ गते तोकिएको आठौं बार्षिक साधारण सभा तथा अधिवेशनमा कोषाध्यक्षको प्रतिवेदन माथि आम उपभोक्ता तथा प्रतिनिधिहरुले प्रश्न उठाएपछि गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक नगरि चुनावी प्रक्रियामा गएपछि आईतवार दिउँसो ४ बजे खानेपानी कार्यालयको प्रशासनिक कार्यकक्ष तथा निर्वाचन कार्यालय रहेको भवनमा तालाबन्दी गरिएको हो ।
संस्थामा व्यापक अनियमितता भएको विषय पेचिलो बन्दै गएपछि यहीँ जेष्ठ २ गतेको साधारण सभाले छानबिन समिति समेत गठन गरिएको थियो । साधारण सभामा पेश गरेको एकिकृत भन्ने आर्थिक प्रतिवेदन सभामा उपस्थित प्रतिनिधिहरुलाई शंकास्पद लागेपछि ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । हर्क बड थापा संयोजक रहेको उक्त समितिमा तेज प्रसाद अधिकारी, शसेन्द्र शाही, शिव पोख्रेल र अमर चन्द सदस्य रहेका थिए ।
उक्त समितिले आफनो कार्यक्षेत्रधिकार भित्र नपरेको भन्दै पञ्छिंदै आएको छ भने साधारण सभामा निर्णयका बुँदाहरु टिप्ने र लिपिबद्ध गर्नेहरुले चलाखीपुर्ण तरीकाले समितिको प्रतिवेदन निर्वाचित समितिलाई बुझाउने भन्ने बाक्य लिपिबद्ध गरेपछि समितिलाई समस्या आएको छानबिन समितिका एक सदस्यले बताए । साधारण सभामा निर्णय टिपोट गर्ने र निर्णय लिपिबद्ध गरि १३ सदस्य रहेको उपसमितिले प्रमाणीकरण गर्ने भन्ने प्रश्ट व्यवस्था गरेको भएपनि प्रमाणीकरण नगरी प्रतिवेदनलाई पाखा लगाउँदै निर्वाचनको मिति र कार्यक्रम तय गरिनु दलगत हस्तक्षेप भएको दलिल सहित आम उपभोक्ताले ताला लगाउनु परेको उपभोक्ता एल. बि. क्षेत्रीले जानकारी दिए ।
यस्तै उपभोक्ता समेतमा रहेका स्थानीय युवा संजय मण्डलले संस्थामा ८ बर्षमा हुन लागेको निर्वाचनको हामी स्वागत गरेको तर छानबिन समितिको प्रतिवेदन सार्वजनिक तत्काल गर्नुपर्ने आफुहरुको माग रहेको बताए । उनले खानेपानीमा भएको ब्रह्मलुट र भ्रष्टाचार र अनियमितता रोक्न दलिय भागवण्डा नलगाई खुल्ला निर्वाचन नै लोकतन्त्रको सुन्दर पक्ष रहेको बताए । धारामा पानी न आउँदा पनि शुल्क तिर्न परेको हुँदा केही उपभोक्ताहरुले भने भागबण्डा गरि खान पल्केका दलहरुले प्रतिवेदन सार्वजनिक भए आफ्ना काला कर्तुत सार्वजनिक हुने र आम उपभोक्ताहरुको दलप्रति बितृष्णा उत्पन्न भई नेतृत्व स्वतन्त्र ब्यक्तिको हातमा जान सक्ने डरले प्रतिवेदन लुकाउने कुचेष्टा गरेको आरोप समेत लगाए ।
आम उपभोक्तालाई खानेपानी सर्वसुलभ दिने संस्थामा राजनैतिक रंग भर्दै कार्य समितिमा बस्न मरीहत्ते गर्ने र छानबिन हिसाब नदेखाई चुनावी प्रक्रियामा गएको प्रति बेटर बाँकेले समेत असहमती जनाउँदै प्रतिवेदन सार्वजनिक गर्न शनिबार प्रेस बिज्ञप्ति जारी गरेको थियो । आईतवार आम उपभोक्ताको हस्ताक्षर सहितको प्रेस बिज्ञप्ति सहित प्रतिवेदन सार्वजनिकको माग सहित तालाबन्दी गरिएको छ भने सोको जानकारी कोहलपुर नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाललाई समेत दिएको बताइएको छ ।
