
नेपालगञ्ज / वरिष्ठ अवधीभाषी साहित्यकार एवं सञ्चारकर्मी विष्णुलाल कुमालको आज ७६ औं जन्मोत्सव मनाइएको छ । ७५ वर्ष पुरा गरेर ७६ औं वर्ष प्रवेशका अवसरमा शनिबार नेपालगञ्जमा अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रिय समितिद्वारा उहाँको कृति ‘घमन्जा’ विमोचनसँगै बहुभाषिक कवि गोष्ठी गरिएको हो ।
स्रष्टा कुमालले साहित्य रचनासँगै सञ्चारमार्फत अवधी कला, सांस्कृतिक योगदान पु¥याउनु भएको छ । मानवअधिकार, समाजसेवा र शान्ति स्थापनामा पनि उत्तिकै सक्रिय कुमालद्वारा प्रकाशित ‘घमन्जा’ पुस्तकको प्रमुख अतिथी एवं राजनीतीकर्मी पशुपति दयाल मिश्र, वरिष्ट साहित्यकार सनत रेग्मी लगायतले विमोचन गर्नुभयो । प्रमुख अतिथि मिश्रले कुमालद्वारा प्रकाशित ‘घमन्जा’ पुस्तक जस्तै स्रष्टा कुमाल पनि घमन्जा जस्तै बहुआयामिक व्यक्तीत्व भएको भन्दै उहाँ सक्रियता र योगदानको स¥हाना गर्नुभयो ।
कार्यक्रममा वरिष्ट साहित्यकार रेग्मी, पुस्तकालय अध्यक्ष बलराम यादव, प्राज्ञ सदस्य महानन्द ढकाल, प्राध्यापक कृष्ण घिमिरे, वरिष्ठ पत्रकार नरेन्द्रजंग पीटर, रुपैडीया नगर पंचायतका चेयरम्यान डा. उमाशंकर वैश्य, पत्रकार विजय वर्मा लगायतले अवधी भाषा, साहित्य र स्रष्टा कुमालको व्यक्तित्व बारे चर्चा गर्नु भएको थियो ।
अवधी सांस्कृतिक प्रतिष्ठानका केन्द्रिय सदस्य हाजी अब्दुल लतिफ शौकको सभापतित्वमा भएको कार्यक्रममा मुस्तफा अहसन, विक्रम शीशीर, सुशिला वैश्य, शायदा वाहिदी, चन्द्रावती अधिकारी, असफाक संघर्ष लगायतले रचना वाचन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन जीनु हकले गर्नु भएको थियो ।
