Close sidebar

फेसबुकले गरायो ५८ वर्षपछि दाजु–बहिनीको मिलन

२०८० बैशाख ४ गते, सोमबार १३:०१

नेपालगञ्ज / सामाजिक सञ्जाल फेसबुकले ५८ वर्षपछि दाजु–बहिनीको भेट गराएको छ । नेपालगञ्ज उपमहानगरपालिका – १०, भृकुटीनगर निवासी ७५ वर्षीया हिमा ज्ञवालीले बर्मामा बस्ने ८० वर्षीय दाजु डीपी शर्मा घिमिरेलाई ५८ वर्षपछि फेसबुकले गर्दा भेट्न पाउनुभएको हो । हिमा ज्ञवालीका दाजु डीपी शर्मा घिमिरेले फेसबुकबाट आफन्तलाई खोजी गर्दा बहिनी हिमालाई भेट्नुभयो । त्यसपछि उहाँ बर्मामा बस्ने दाजु नेपालगञ्ज आएर बहिनीसँग भेट गर्नुभयो । दाजु–बहिनीबीच ५८ वर्षसम्म कुनै प्रकारको भेटघाट र सम्पर्क थिएन ।

बर्मामा बस्ने दाजु घिमिरेले नेपालमा रहेका घिमिरे, पन्थी र ज्ञवाली इष्टमित्रलाई फेसबुकमा खोज्दै जाँदा धेरै मेहनत र लामो समयपछि बहिनी हेमाको ठेगाना पत्ता लगाउनुभयो । त्यसपछि उहाँ बहिनी र आफन्त भेट्न १८ दिनको भिसा लिएर नेपाल आउनुभयो । बहिनी हिमाले भन्नुभयो, “यतिका वर्षपछि दाजुलाई देख्न र भेट्न पाउँदा स्वर्ग नै पाएजस्तो भएको छ । बर्मामा रहेका कुनै पनि परिवारका सदस्यसँग भेट हुने आशा मरिसकेका बेला दाजुलाई भेट्न पाउँदा खुसीले गदगद भएकी छु ।”

उहाँका दाजु डीपीको अनुभव पनि बहिनीको जस्तै छ । उहाँले बहिनी, आफन्त र परिवारसँग भेट हुने सबै आशा समाप्त भइसकेका बेला फेसबुकबाट आफन्तको खोजी गरेर नेपाल आएर भेट्न पाउँदा अति नै खुसी लागेको बताउनुभयो ।

वि.सं. २००५ मा बर्मामा जन्मिएकी हिमाको १६ वर्षको उमेरमा बर्मामै गुल्मी जिल्ला निवासी फणीन्द्रनाथ ज्ञवालीसंँग विवाह भएको थियो । त्यसको एक वर्षपछि उहाँहरू नेपाल आउनुभएको हो । नेपाल आएपछि चार/पाँच वर्ष चिठीपत्र आदानप्रदान भए पनि पछि पूर्ण रूपमा सम्पर्क विच्छेद भएको थियो । उहाँका हजुरबुवा नारायणप्रसाद घिमिरे बर्मा घुम्न जानुभएको र उतै बस्नुभएको थियो । उहाँका १२ छोराछोरी जन्मिएका थिए । १२ छोराछोरीमध्ये हिमा माइली छोरी हुनुहुन्छ ।

दाजु–बहिनीको भेट भएपछि आमालाई पनि बर्मा लगेर त्यहाँ रहेका आफन्तलाई भेट गराउने तयारी भइरहेको हिमाका कान्छा छोरा प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सामाजिक सञ्जालको सदुपयोग गर्न सके धेरै राम्रा र उल्लेखनीय काम हुन सक्छन् भन्ने थुप्रै उदाहरण छन् । तीमध्ये एक उदाहरण बनेको छ, ५८ वर्षपछि दाजु र बहिनीको भेटघाट ।
                                   – गोरखापत्र अनलाइनबाट 

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया