Close sidebar

दुई कर्मचारी ८० वर्षको उमेरमा पनि कार्यालयको काममा सक्रिय

२०७९ फाल्गुन २७ गते, शनिबार १६:३६

नेपालगन्ज / पाल्पाको अतिरिक्त हुलाक कार्यालयमा काम गर्ने दुई जना कर्मचारी ८० वर्षको उमेरमा पनि कार्यालयको काममा सक्रिय छन् । जिल्लाको रामपुर – २, दर्छाको अतिरिक्त हुलाक कार्यालय हुलाक प्रतिनिधिका रूपमा कार्यरत भीमलाल खनाल ८० वर्षको पुगे । उनी अहिले पनि हुलाक कार्यालयमा हुलाक प्रतिनिधिका रूपमा काम गर्छन् । “हुलाक प्रतिनिधिका रूपमा काम गरेर ८० वर्ष पुगेँ। मैले काम गरेको ३७ वर्ष पुगिसकेको छ । सरकारले पनि काम छोड भनेको छैन, मैले सकेको काम अहिले पनि गरेकै छु,” उनले भने ।

खनाल मात्रै होइन, निस्दी गाउँपालिका – ४ स्थित मित्याल अतिरिक्त हुलाक कार्यालयमा डाँक वाहकका रूपमा ८० वर्षका चुरामसिंह सुनारी कार्यरत छन् । उमेरले आराम गर्ने बेला भए पनि सुनारी अहिले पनि आफ्नो कार्यालयमा पुगेर काममा खटिने गर्छन् । सुनारी आफू ५४ वर्षको उमेर हुँदा डाँक प्रतिनिधिका रूपमा हुलाक कार्यालयमा सेवा प्रवेश गरेका थिए । उमेर ८० वर्ष पुगे पनि उनीहरू दुवै जनाले सक्रियताका साथ काम गर्दै आएको जिल्ला हुलाक कार्यालय पाल्पाले जनाएको छ । उमेरले ८० वर्ष पुगे पनि खनाल र सुनारीले सक्रियतापूर्वक काम गर्दै आएको जिल्ला हुलाक कार्यालय पाल्पाका प्रमुख जयदीप पन्थीले बताए ।

“उमेरले ८० वर्ष पुग्नुभयो,” पन्थीले भने, “तर, उहाँहरू अहिले पनि कार्यालयले तोकेको काममा सक्रिय हुनुहुन्छ । पहिलेजस्तो कार्यालयमा चिठीपत्र दर्ता, सङ्कलन र वितरणको चाप नभए पनि उहाँहरू दुवै जना नियमित कार्यालयमा आएर तोकिएको काम गर्नुहुन्छ।” नेपाल सरकारको अतिरिक्त हुलाक नियमावली २०३४ अनुसार नियुक्त उनीहरूले अहिले मासिक आठ हजार ३१० रुपियाँ तलब पाउँछन् । सरकारबाट दिने सुविधा पाएपछि उनीहरू दुवै जनाले ज्येष्ठ नागरिक भत्ता भने लिँदैनन् । बिहान १० देखि १२ बजेसम्म नियमित हुलाक कार्यालयमा आएर काम गर्नुपर्ने प्रावधान छ ।

नियमावली अनुसार १६ वर्ष उमेर पुगेका नागरिकले अतिरिक्त हुलाक कार्यालयमा सेवा गर्न सक्ने प्रावधान छ तर सेवानिवृत्त हुने उमेर अवधि नतोकिएका कारण उनीहरू हालसम्म पनि कार्यरत रहेको जिल्ला हुलाक कार्यालय पाल्पाका सूचना अधिकारी टङ्क भण्डारीले बताए । नियमावलीमा जागिर छाडे उक्त पद रिक्त हुने वा कार्यालयले कारबाही गरे मात्र जागिर नरहने व्यवस्था रहेको भण्डारीले बताए । “हामीले उमेर धेरै भएको भनेर हटाउन मिल्दैन, काम गर्दासम्म केही गर्न सक्दैनौँ,” उनले भने, “उहाँहरूले राजीनामा दिनुपर्यो कि कारबाही गर्नुपर्यो ।” हुलाक कार्यालयका अनुसार विभिन्न अतिरिक्त हुलाक कार्यालयमा काम गर्ने ७० वर्ष उमेरमाथिका अन्य १० जना रहेका छन् । साभार: गोरखापत्र दैनिक

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया