
नेपालगन्ज / हत्या अभियोगमा मुछिएका महोत्तरी– १ नेकपा एमालेकाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभरका जिल्ला प्रहरी कार्यालयमा सर्कुलर जारी गरिएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्रीले दिएको निर्देशनका बाबजुद कोइरी पक्राउ नभएपछि चौतर्फी आलोचना हुन थालेपछि माघ ६ गते गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै असन्तुष्टि जनाएपछि प्रहरी प्रधान कार्यालयले कोइरीलाई पक्राउ गर्न देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर जारी गरिएको हो ।
हत्या अभियोगमा मुछिएका प्रतिनिधिसभा सदस्य कोइरीलाई पक्राउ गर्न देशभरका सबै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिई सकेको नेपाल प्रहरीका प्रवक्ता (डिआइजी) टेकप्रसाद राईले जानकारी दिनुभयो । गृह मन्त्रालयबाट लिखित र मौखिक निर्देशन आएपछि प्रहरीको निगरानी बढेपछि सांसद कोइरी भारततिर लागेको आशंका गरिएको छ । सांसद कोइरीलाई नियन्त्रणमा लिन प्रहरी लागि राखेको बताउँदै उनी छिट्टै समातिने प्रवक्ता राईले बताए ।
मधेस आन्दोलनका क्रममा असई थमन विकको हत्यामा संलग्न रहेको आरोप सांसद कोइरीमाथि छ । २०७२ भदौ २५ गते विकको हत्या भएको थियो । महोत्तरीको जलेश्वरमा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । विक हत्याको योजनाकार कोइरी रहेको आरोप छ ।
उच्च अदालत जनकपुरले कोइरीलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा राख्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई आदेश दिएको थियो । जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा कोइरीलाई १ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उच्च अदालत जनकपुरले त्यो आदेश उल्ट्याउँदै २०७७ मंसिर १९ मा कोइरीलाई थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो ।

