नेपालगन्ज / इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठुलो महान चार्डपर्व ईद–अल अजहा (बकराईद) भोलि आइतवार देशभर हर्षोउल्लासका साथ मनाईने भएका छन् । इस्लामिक पात्रोको अन्तिम महिना जिल्हिजको दशौं दिन ईद–अल अजहा (बकराईद) पर्व मनाईँने धार्मिक परम्परा रहेको छ ।
मुस्लिम धर्मावलम्बीहरूले ईद–अल अजहा (बकराईद) पर्वको सुरूवात बिहानै इदगाह तथा मस्जिदमा पुगेर नमाज पढेर पर्व मनाईँने गर्छन् । त्यसैले ईद–अल अजहा (बकराईद)को नमाज नेपालगन्जको बिपी चोकस्थित इदगाह लगायत विभिन्न मस्जिदहरूमा नमाज फरक–फरक समयमा राखिएको बताइएको हो ।
नेपालगन्जको ईदगाहमा ईद–अल अजहा (बकराईद)को नमाज ठिक साढे ७ बजे हुनेछ भने एक्लैनीस्थित फुलवारी मस्जिद (मर्कज) मा ठिक ७ बजे नमाज हुनेछ । यसैगरी सोनार मण्डीस्थित रहेको नेपाली मस्जिदमा ठिक साढे ७ बजे र एक्लैलीस्थित फैजुन्नबी जामे मस्जिदमा ठिक साढे ८ बजे ईदुल अजहा पर्वको नमाज हुने बताइएको छ ।
इस्लाम धर्मावलम्बी तथा हजरत मोहम्मद सल्लललाहु अलैहे वसल्लमका पुर्खा हजरत इब्राहिमको अ. सलामको बलिदानको सम्झनामा यो ईद–अल अजहा (बकराईद) पर्व मनाईन्छ । मुस्लिमहरूले विश्वास गर्छन् कि अल्लाहले हजरत इब्राहिम अ. सलामको भक्ति परीक्षण गर्न आफ्नो सबैभन्दा प्रिय चीजको बलिदान मागेको थियो । हजरत इब्राहिम अ. सलामले आफ्नो सबैभन्दा प्रिय कान्छो छोरा इस्माईल अ. सलामलाई अल्लाहको मार्गमा बलिदान दिने निर्णय गरे ।
तर जब उनले आफ्नो छोराको बलिदान कुर्बानी दिन लागे अल्लाहले उनको स्थानमा एक डुम्बे राखे । अल्लाहले उनीहरूको मात्र परीक्षा लिइरहेका थिए । यस परम्परालाई स्मरण गर्दै, विश्वभरका मुस्लिमहरूले ईद–अल अजहा (बकराईद) पर्व मनाउँछन् । यस दिन पशुको बलि (कुर्बानी) दिइन्छन (पशु कस्तो हुनेछ भनेर विशेष शर्तहरू पनि छन्) । त्यसैले यस पर्वलाई (बकराईद) पनि भनिन्छ ।
यो ईद–अल अजहा (बकराईद) पर्व हजसँग पनि सम्बन्धित छ, जब विश्वभरका लाखौं मुस्लिमहरू प्रत्येक वर्ष हजका लागि साउदी अरेबियाको पवित्र शहर मक्का मदिनाको भ्रमण गर्छन् । जहाँ हजको भोलि पल्ट बकराईदको दिन बाख्राको बलि अर्थात कुर्बानी दिन्छन् । कुर्बानी हजको महत्वपूर्ण अंग मध्येको एक हो ।
ईद–अल अजहा (बकराईद) पर्वको दिन आइतबार नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
