साहिल शेष ✍️
नेपालगन्ज / महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरूलाई आज एक कार्यक्रमका बिच सम्मान गरिएको छ । जानकी गाउँपालिका ३ नम्बर वडा कार्यालय मातहतका महिला स्वास्थ्य स्वयंं सेविकाहरूलाई सम्मान गरिएको हो ।
जानकी गाउँपालिका वडा नम्बर ३ को आयोजनामा र वडा अध्यक्ष राज कुमार वर्माको आर्थिक सहयोगमा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई शुक्रबार स्वास्तिक कटेज नेपालगन्जमा सम्मान कार्यक्रम गरिएको थियो ।
सम्मान कार्यक्रममा प्रमुख अतिथी जानकी गापा. अध्यक्ष छब्बन खाँ, विशिस्ट अतिथीमा जानकी गापा. स्वास्थ्य प्रमुख दल बहादुर राना, अतिथीमा जानकी गापा. स्वास्थ्य निरीक्षक गंगा मरासिनीले आसन ग्रहण गरेका थिए ।
सो सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै जानकी गापा. का स्वास्थ्य संयोजक दल बहादुर रानाले स्वास्थ्य स्वयं सेविकाहरुलाई राज्यले दिंदै आएको सेवा सुविधालाई स्थानीय सरकारले थोरै भएपनि सेवा सुविधा बढाइएकोले स्वास्थ्य क्षेत्रमा खटिएको महिला स्वास्थ्य स्वयं सेविकाहरूले आफ्नो जिम्मेवारी इमानदारी पुर्वक वहन गर्न आग्रह गरे । उनले पालिकाले स्वयं सेविकाहरुको पिडालाई कदर गर्दै सेवासुविधा बढाएको भन्दै धन्यवाद समेत दिए ।
यसैगरी महिला स्वयं सेविकाहरूले स्वास्थ्य क्षेत्रमा निरन्तर खटिएर काम गर्दै आएको र कोरोना महामारीका बिच महिला स्वयं सेविकाले निरन्तर गाउँमा खटिएर नागरिकलाई सेवा प्रदान गरे त पनि सेवा सुविधातर्फ सरकार लचिलो नदेखिएको जानकी गापा. ३ कि स्वास्थ्य चौकी प्रमुख चन्द्रवती रोकायले गुनासो गरिन् ।
उक्त कार्यक्रममा वडा सदस्य श्री मावी बन्जारेगाउँका प्रधानाध्यापक आदित्य कुमार वर्मा, मरिमाता प्रा.बि. कि प्रधानाध्यापक सुमित्रा धिताल, महिला स्वयंसेविका र वडा सदस्य लगायतका नेता तथा कार्यकर्ता गरि करीब ५० भन्दा बढिको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन वडा नम्बर ३ का वडा अध्यक्ष राज कुमार वर्माले गरेका थिए ।
