नेपालगञ्ज / नेपालगञ्ज नाकामा फेरि कोरोना संक्रमित भेटिएका छन । नेपालगञ्ज नाकामा भारतबाट आएका जाजरकोट र कालिकोटका तीन जनामा कोरोना संक्रमण भेटिएका हुन् ।
मंगलबार नेपालगन्जस्थित जमुनहा नाकामा ६३ जनाको कोरोना जाँच गर्दा तीन जनामा कोरोना संक्रमण भेटिएको हो ।
भारतको हिमाञ्चलबाट आएका जाजरकोटका दुई महिला र गडवालबाट आएका कालिकोटका एक जना युवामा कोरोना पुष्टि भएको नेपालगन्ज नाकामा रहेको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले पुष्टि गर्नुभएको छ ।
कोरोना संक्रमण देखिएका तीनै जनालाई पाँच दिनअघि ज्वरो आएको थियो । उनीहरुले कोरोनाविरुद्धको दुई मात्रा खोप लगाएका छन् । तिनैजनालाई सम्झाएर घरतर्फ पठाइदिएको ज्ञवालीले बताए ।
स्थानीय तह निर्वाचन २०७९ ले गर्दा नाकामा वैशाख २२ गतेदेखि जेठ ८ गतेसम्म कोरोना जाँच रोकिएको थियो ।नेपालगन्ज नाकामा अन्तिम पटक नेपालगञ्ज नाकामा चैत्र २७ गते कोरोना संक्रमण देखिएको थियो ।
२०७७ चैत्र १२ गतेदेखि कोरोना जाँच थालिएको नेपालगञ्ज नाकामा अहिलेसम्म एक हजार तीन सय ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
