रिजवान मिर्जा✍️
नेपालगन्ज । हुन्डी कारोबारमा संलग्न रहेकोे आरोपमा पक्राउ परेका राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई अदालतले आज धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बाँके जिल्ला अदालतका माननीय न्यायाधीश इन्दिरा शर्माको इजलाशले बुधबार नेता शेखलाई १५ लाख वा साे बराबर बैंक ग्यारेन्टी, जेथा राखि धराैटीमा बसी मुद्दा पुर्पक्ष गर्नका लागि आदेश दिएको हो ।
मंगलबार बिहान करीब ११ बजेदेखि शुरु भएको कानुन व्यवसायीहरुकाे बहस सम्पन्न हुन नसक्दा आज पुनः बहश भएको थियोे । नेपाल सरकारकाे तर्फबाट विद्वान सहायक जिल्ला न्यायाधिवक्ता बिष्णु प्रसाद गाैलीले बहस गरेका थिए ।
प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु भाेला सिंह हमाल, गिरीवर प्रसाद अग्रवाल, लाेक बहादुर शाह, अधिवक्ताहरु बासुदेव ज्ञवाली, तिर्थराज ज्ञवाली, माेहन विक्रम अर्याल, पुर्ण प्रसाद ढकाल, विश्वजित तिवारी, बिजयकुमार शर्मा, पवन कुमार गुप्ता, निर्दिप कुमार श्रेष्ठ, जमालुद्दिन अन्सारी, काेहिनुर मल्ल, भिम बहादुर शाही, रुप नारा बिसी, सतिश खडका, हरिकेश वर्मा समेतले बहस गरेका थिए ।
नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई, बालुवाटार काठमाडौँबाट प्राप्त जाहेरीका आधारमा दर्ता भएको मुद्दामा यही पुस ११ गते पार्टीको कार्यक्रमका लागि कपिलवस्तु जाने क्रममा दाङको अमिलियाबाट नेता शेखलाई प्रहरीले पक्राउ गरेको थियोे ।
करिब ४ करोड ९२ लाख ८४ हजार २ सय ९६ रुपैयाँ बराबरको शंकास्पद हुण्डीमार्फत अवैध आर्थिक कारोबार देखिएको प्रहरीको दावी थियोे । बाँके जिल्ला अदालतले माँग गरेको धराैटी रकम बुझाउन नसक्दा नेता शेखलाई आज कारागार पठाइएको हो ।


