नेपालगन्ज । नेपालीहरूको महान चाड विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन, नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजया दशमी पर्व बिहिवार हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरूप टीका, जमरा थापेर मनाइन्छ । दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीकाको उत्तम साइत आज बिहान ११ बजेर ५३ मिनेट रहेको छ । टीका लगाउनेले पूर्व र लगाइदिनेले पश्चिम फर्कनुपर्ने परम्परा छ । देवी विसर्जनको साइत बिहान ९ बजेर २३ मिनेटमा तोकिएको जनाएको छ । विजया दशमी आफैमा शुभदिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत नहेरी पनि ग्रहण गर्न सक्ने पनि परम्परा छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म पनि टीका–जमरा लगाउन सक्नेछन् । महालक्ष्मी पूजासहित कोजाग्रत पूर्णिमामा दशैं पर्व समापन हुन्छ ।
असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने नेपालीहरुको बडादशैँ सबैभन्दा महत्त्वपूर्ण दिन हो । त्रेता युगमा आजैका दिन भगवान रामले असत्यको प्रतीक बनेका रावणमाथि विजयी प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरू गरिएको धार्मिक विश्वास छ ।


