नेपालगन्ज । बडा दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिदैंछ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिनसम्म मनाइने वैदिक हिन्दुहरूको महान् पर्व बडादशैँ सोमबारदेखि आरम्भ भएको छ ।
घटस्थापनाको दिन पूजा कोठामा गाईको गोबरले लिपपोत गरिएको स्थलमा बालुवा वा माटो राखी त्यसमाथि “जौ” रोप्ने अर्थात् जमरा राख्ने प्रचलन रहिआएको छ । विजयादशमीका दिन जमरा टीका–प्रसादसँगै ग्रहण गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज घटस्थापनाको साइत बिहान ९ः१३ बजे रहको थियो । प्रतिपदाका दिन सूर्योदयकालमा घटस्थापना गर्ने धार्मिक मान्यता रहिआएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताए ।
नवरात्रभर दुर्गा देवीका महाकाली, महालक्ष्मी र महासरस्वती गरी तीन रूप तथा नौवटा नवदुर्गाको विशेष पूजा गरिन्छ । धर्मशास्त्रविद्हरूका अनुसार यस पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मानिन्छ । यस्तै विजयादशमीको साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेट रहेको समितिले जनाएको छ । त्यस दिन मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरी दशैं औपचारिक रूपमा सम्पन्न हुनेछ ।


