नेपालगन्ज । साला–भेनाबिच भएको सामान्य विवादले उग्ररूप लिएपछि बाँकेमा एक व्यक्तिको ज्यान गएको छ ।खसी खरिदका विषयमा दुई पक्षबिच भएको कुटाकुटले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ बेहना टोलका ५२ वर्षीय जाबिर अलि बेहनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान करीब ९:३० बजेतिर साला–भेनाबिच खसी खरिदका विषयमा विवाद सुरु भएको थियो । त्यसपछि दुवै जनाले समूह बनाएर कुटाकुट गरेका थिए । त्यस क्रममा एकले अर्कालाई घरेलु हतियार, ढुंगा, दाउरालगायत प्रहार गर्दा बेहना गम्भीर घाइते भई भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा शुक्रबार दिउँसो करीब २:३० बजेतिर मृत्यु भएको स्थानीयले बताए ।
घटनामा उनका साला अजमत अलि बेहनाले रुदै भने, ‘सुरुमा त सामान्य विवाद मात्रै थियो । तर ढुंगा र घरायसी हतियार प्रहार भएपछि अवस्था नियन्त्रण बाहिर पुग्यो, हामी सबैले मिलाउन खोज्यौं, तर सकिएन’ । यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सराफत अलि शेषले दुःख व्यक्त गर्दै भने, हामीले शान्तिपूर्वक मिलाउने प्रयास गरेका थियौं । तर दुःखसाथ भन्नु पर्दा प्रयास असफल भयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार एक जनाले किन्नका लागि मोलतोल गरेको खसीलाई अर्कोले ५०० बढी दिएर किनेर ल्याएपछि विवाद सुरु भएको र विवाद बढ्दा ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।पक्राउ पर्नेमा ३७ वर्षीय मुस्ताक अलि बेहना, ३२ वर्षीय चाँदबाबु बेहना र २५/२५ वर्षका सेराज अलि बेहना र इसराक अलि बेहना रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


