नेपालगन्ज । नेपालगन्जको वीपीचोकस्थित सुनाखरी रेष्टुरेन्टमा वेटरको रूपमा कार्यरत निर्मला थापाको हत्या भएको छ । दैलेख घर भई नेपालगन्जको बेलासपुरस्थित भाडा बस्दै आएकी कोठामा सलले घाँटी बेरेर २२ वर्षीया थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
हत्या आरोपमा बर्दिया घर भई नेपालगन्जकै स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा कार्यरत ३५ वर्षीय प्रकाश सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । परिवारका अनुसार, प्रकाश र निर्मला विगत तीन वर्षदेखि नेपालगन्ज १२ बेलासपुरमा सँगै बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँके अनुसार बुधबार राति हत्या गरी प्रकाशले निर्मलाको बहिनीलाई फोन गरेर “तिम्रो दिदीलाई मैले मारेँ” भनेका थिए । त्यसपछि बिहीबार राति करिब २ बजे उनी आफैं जिल्ला प्रहरी कार्यालय बाँके पुगेर आफूले निर्मलाको हत्या गरेको जानकारी प्रहरीलाई गराएपछि घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको थियो ।
प्रहरी घटनास्थल पुगेपछि निर्मलाको शव कोठामा फेला पारेको थियो । निर्मलाको परिवार नेपालगन्ज पुगेपछि शवको पोस्टमार्टम शुक्रबार बिहान मात्र गरिएको प्रहरीले जनाएको छ । प्रकाश विवाहित रहेको र उनका श्रीमती, एक छोरा र एक छोरी बर्दियामै बस्ने गरेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ । 

