नेपालगन्ज । रुपन्देहीका पत्रकार राधेश्याम विश्वकर्मामाथि दुव्र्यवहार र आक्रमण प्रयास गर्ने दिपेश यादवलाई पक्राउ गरि कानुनी कारवाहीको माग गर्दै आन्दोलन सुरु गरिएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रेस क्लवको अगुवाइमा आन्दोलन सुरु गरिएको हो ।
आन्दोलन तथा प्रशासन धर्नामा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईंसहितको उपस्तिथिमा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको ध्यानाकर्षण गराउँदै पक्राउ गर्न अल्मेटम दिइएपछि यादवलाई बिहीबार रुपन्देहीको कक्रहवास्थित नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरिएको हो ।
यादवसहित ७–८ जना तस्करहरुको समूहले पत्रकार विश्वकर्मामाथि रुपन्देहीको मर्चवारमा बैशाख ८ गते सञ्चार उपकरण खोस्ने, भिडियो मेटाउन लगाउने, दुव्र्यबहार गर्ने र भौतिक आक्रमणको प्रयास गरेका थिए । पत्रकार महासंघ रुपन्देही शाखा लगायत पत्रकार सम्बद्ध विभिन्न संघसंगठनले विज्ञप्ती जारी गरी दोषीलाई कारबाही माग गर्दै आएका थिए । पक्राउ परेका यादवलाई कानुनी कारवाही हुने महासंघ विश्वास व्यक्त गरेको छ ।

