नेपालगन्ज । बाँकेका पत्रकारहरुले दिवंगत पत्रकार सुरेश रजकको मृत आत्माको चिर शान्तिको कामना गर्दै दीप प्रज्ज्वलनसंगै श्रद्धान्जली सभा गरिएको छ । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक आन्दोलनको रिपोर्टिङ गर्दैगर्दा हत्या गरिएका दिवंगत पत्रकार रजकको १३औं दिनको पूण्यतिथिमा नेपाल पत्रकार महासंघ बाँकेको अगुवाईमा बुधबार साँझ नेपालगन्जस्थित वीपी चोकमा दीप प्रज्ज्वलनसंगै श्रद्धाञ्जली सभा गरिएको हो ।
राजावादीले गरेको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाउँदै मारिएका पत्रकार रजकको हत्या, कुटपिट र आक्रमण भएदेखि नै पत्रकार महासंघ आन्दोलनमा छ । दोषीको पहिचान गरि कार्वाहीको माग गर्दै आन्दोलनरत महासंघ केन्द्रिय समितिको कार्यक्रम अनुसार १३ औँ दिनको पुण्य तिथि पारेर महासंघ बाँकेले श्रद्धान्जीसँगै दीप प्रज्ज्वलन गरेको पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले बताउनुभयो ।
तिनकुनेस्थित एक घरमा जलेको अवस्थामा फेला परेका एभिन्यूज टेलिभिजनमा सिनियर क्यामेरा पर्सनको रुपमा कार्यरत पत्रकार रजकको मृत्यू नभई हत्या भएको दावी महासंघले गर्दै आएको छ । ‘घटनामा संलग्नलाई पक्राउ नगरि वर्तमान सरकारले आलटाल गरिरहेको छ,’ उनले भने, ‘सत्य, तथ्य बाहिर नल्याउँदासम्म आन्दोलन जारी रहने छ,’ अध्यक्ष गिरीले बताए । घटनामा संलग्नलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन महासंघको माग छ ।