मो. ताहिर शेष राई (साहिल)✍️
नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरूले सामुहिक नमाजपढि अलबिदा पर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ । रमजान महिनाको अन्तिम पर्ने शुक्रबार मनाइने अलबिदा पर्व आज नेपालगन्जका विभिन्न मस्जिदहरूमा दिउँसो सामूहिक नमाजपढि अलबिदा पर्व सम्पन्न भएको हो ।नेपालगन्जस्थित जामा मस्जिद, फुलवारी मस्जिद मरकज, गौसिया मस्जिद, धम्बोझी मस्जिद, ईदगाह मस्जिद, नेपाली मस्जिद, कादरी मस्जिद, मदीना मस्जिद, अन्सारीयान मस्जिद लगायत विभिन्न मस्जिदहरूमा अलबिदाको विशेष नमाज पढेर इस्लाम धर्मावलम्बीहरूले अलबिदाको शुभकामना साटासाट गरि अलबिदा पर्व मनाएका हुन ।
इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको आज अन्तिम शुक्रबार परेको छ, जुन एक महिने व्रत (रोजा) का बेला अझ महत्वपूर्ण मानिन्छ । विशेष नमाज अलबिदा सकिंदा रमजान (रोजा) आफुबाट बिदा भएको धार्मिक मान्यता रहेको छ । यस दिनलाई सानो ईदका रूपमा पनि मनाइने धार्मिक अगुवाहरू बताउँछन् ।
महान पर्व रमजान शुरू भएको आज २७औं दिन भएको छ । अरेबिक पात्रो अन्तर्गत रमजान एउटा महत्त्वपूर्ण महिना हो । यहि महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा महत्त्वपुर्ण र पवित्र महिनाको रूपमा मानिन्छ ।ईस्लामिक पात्रो हिजरी सम्वत अनुसार रमजान नवौं महिना अर्न्तगत पर्दछ । उक्त पात्रोमा यसलाई पूर्ण रुपमा ‘रमजानुल मुबारक भनिन्छ । एक महिना सम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरूलाई उपवास ब्रत अनिवार्य बस्नुपर्छ, जसलाई रोजा भनिन्छ । रोजामा इस्लाम धर्मावलम्बीहरूले मिरमिरे बिहानदेखि सुर्यास्त नहुन्जेलसम्म प्रत्येक दिन एक महिना सम्म पानी समेत नखाई व्रत बस्ने गर्छन ।
रोजा जस्तो कठिन व्रत गर्ने ब्रतालुले यस महिनालाई पवित्र महिनाका रुपमा लिएको पाइन्छ । रोजा अशक्त, बिरामी, बालबालिका, गर्भवती महिला र महिनावारीको समयमा मात्र व्रत बस्न अनुमति नभएको धार्मिक धर्मगुरूहरू बताउँछन् ।
तीस दिनको यो रमजान महिनालाई तीन भागमा बाडिएको छ । पहिलो १० दिनको अवधिलाई रहमत (दयामाया) दोस्रो १० दिनको अवधिलाई बरकत (फलिपाप) र अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट क्षमा पाउने) मुस्लिमहरुले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन ।यस महिनामा मुस्लिम समुदायले फितरा जनही एक किलो ७५० ग्राम गहुँ वा सो मुल्य बराबरको रुपैया निकाल्नु पर्छ, भने वर्षभरिको आमदानी र सम्पत्तिबाट अढाई प्रतिशत जकात (कर) निकालनु पर्छ । उक्त फितरा, जकात गरीब, असहाय , दिनदुखी वा मदरसामा ईदको नमाज पढ्नु भन्दा अगावै दिनुपर्ने धार्मिक मान्यता रहेको छ । रमजानको अन्तिम दिन साँझ चन्द्रमा हेरेसँगै भोलिपल्ट ईदुल-फित्र मनाइन्छ ।