बब्लु खान✍️
नेपालगन्ज । इस्लाम धर्मवलम्बिहरुले राती जागरण बसेर आज “सबेकद्र” मनाउने भएका छन । पवित्र महिना रमजानको २६औं रोजामा रातीभरि जागरण बसेर नमाज, कुरआन र तसबीह पढेर “सबेकद्र” बिहिवार मनाउने भएका हुन ।सबेकद्रमा नेपालगन्जका विभिन्न मस्जिद र कब्रस्तानलाई रंगबिर्ंग झिलिमिली बत्तीले सौन्दर्यकरण गरिन्छ । यो विशेष रातमा नमाज र कुरआन पढि प्रार्थना गरेमा सबै पाप (गुनाह) क्षमा (माफ) हुने धार्मिक मान्यता छ ।
यसैगरी मुस्लिम समुदायले भोलिपल्ट पर्ने अलबिदा पर्वको भब्य तयारीमा जुटेका छन । पवित्र महिना रमजानको अन्तिम पर्ने शुक्रबार अलबिदाको विशेष नमाज पढ्ने तयारीमा जुटेका हुन । नेपालगन्जस्थित जामा मस्जिद, फुलवारी मस्जिद, गौसिया मस्जिद, धम्बोझी मस्जिद लगायत मस्जिदहरूमा दिउँसो अलबिदाको विशेष सामुहिक नमाज पढिने भएका छन ।
अलबिदाको विशेष नमाज सकिंदा रमजान (रोजा) आफुबाट बिदा भएको धार्मिक मान्यता रहेको छ । यस दिनलाई सानो ईदका रूपमा मनाइने धार्मिक अगुवाहरू बताउँछन् । अरेबिक क्यालेन्डर अन्तर्गत रमजान एउटा महत्त्वपूर्ण महिना हो ।यस महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा महत्त्वपुर्ण र पवित्र महिनाको रूपमा मानिन्छ ।
इस्लामिक पात्रो हिजरी सम्वत अनुसार रमजान नवौं महिना अर्न्तगत पर्दछ । उक्त पात्रोमा यसलाई पूर्ण रुपमा “रमजानुल मुबारक” भनिन्छ । यो महिना अवधिभरि दान दिनु , गरिब र असहायलाई मद्दत गर्नु , जकात / फितरा दिनु यो महिनाको ठुलो विशेषता हो । हरेक मुसलमानले जकात र फितरा ईदको नमाज अगावै दिन अनिवार्य छ ।